onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रशिक्षक ह्वाटमोरले राजीनामा दिएको पुष्टि

काठमाडौं (अनलाइन खेल खबर) । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान) पुष्टि गरेको छ ।

शुक्रबार प्रशिक्षक ह्वाटमोरले राजीनामा दिएको समाचार भारतीय सञ्चारमाध्यमहरुले प्रशारण तथा प्रकाशित गरेसँगै त्यसको केही घन्टापछि क्यानले पुष्टि गरेको हो ।

क्यानका अनुसार प्रशिक्षक ह्वाटमोरले ब्यक्तिगत कारण राजीनामा दिएको उल्लेख गरेको छ । तर क्यान स्रोतका अनुसार उनको राजिनामाको कारक तत्ब क्यानको ब्यबस्थापकिय कमजोरी हुन् पुगेको छ ।

हाल एकदिवसीय विश्वकप छ्नोट अन्तर्गत विश्वकप लिग-२ को खेल खेल्न नेपाली टोली ओमानमा रहेको छ । प्रशिक्षक ह्वाटमोरसहित नेपाली टोली केहि दिन अघि मात्र त्यसतर्फ प्रस्थान गरेको थियो । नेपालले ओमानमा पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज र त्यसपछि ओमान,अमेरिका र नेपाल सम्मलित त्रिकोणात्मक सिरिज खेल्नेछ ।

करिव १ वर्षे सम्झौता अनुरुप नेपाल आएका ह्वाटमोरको प्रशिक्षकमा नेपालले घरेलु मैदानमा नेदरल्यान्ड र मलेसियाविरुद्ध त्रिकोणात्मक सिरिज खेलेको थियो । जसमा नेपालले निकै राम्रो प्रदर्शन समेत गरेको थियो ।

नेपाल आउनुअघि उनि सिंगापुर टोलीसँग आबद्ध रहेका थिए । ह्वाटमोर यस्ता प्रशिक्षक हुन् उनको मातहतमा रहेको श्रीलंकाले सन् १९९६ मा पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि उचालेको थियो ।

श्रीलंकापछि उनले बंगलादेश टोलीलाई पनि सम्हालेका थिए । सन् २००३ देखि २००७ सम्म बंगलादेश टोलीको मुख्य प्रशिक्षक रहेका उनले त्यस क्रममा बंगलादेशलाई पनि राम्रो स्थितिमा पुर्याएका थिए । त्यस बेला बंगलादेशले भारत, दक्षिण अफ्रिकाजस्ता टिमलाई हराएको थियो ।

श्रीलंका र बंगलादेशपछि उनले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकता नाइट राइडर्ससँग पनि आबद्ध रहेर काम गरे । सन् २०१० र २०११ को सिजनमा उनि कोलकताको प्रशिक्षक रहेका थिए ।त्यसपछि उनि पाकिस्तान र जिम्बावे टिमको मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।