onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आयरल्यान्डमाथि दक्षिण अफ्रिकाको सहज जित

एजेन्सी । घरेलु टोली आयरल्यान्डविरुद्धको तीन खेलको टी- ट्वान्टी सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकाले सहज जित हासिल गरेको छ ।

सिरिजमा विजयी सुरुवात गर्ने क्रममा पाहुना टोली दक्षिण अफ्रिकाले आयरल्यान्डलाई ३३ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी लक्ष्यलाई पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनमा सिमित हुन् पुग्यो ।

आयरल्यान्डका लागि ब्याटिङमा हैरी टेक्टरले सर्वाधिक ३६ रन बनाउँदा बैरी मैकार्थीले ३० रनमा अविजित रहे । यस्तै कप्तान एंड्रयू बालबर्नीले २२ रन थप्दा अविजित रहेका जोशुआ लिटिलले १५ रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका तबराइज शम्सी एक्लैले ४ तथा जर्ज लिन्डे र लुंगी एनगिडीले २-२ विकेट हात पारे । यस्तै कागिसो रबाडाले पनि १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

टिमले उक्त स्कोर खडा गर्ने क्रममा आइडेन मार्करमले सर्वाधिक ठूलो पारी खेले । ३० बलको सामना गरेका उनले २ चौका र २ छ्क्कासहित ३९ रनको योगदान गरे । यी बाहेक डेभिड मिलरले २८ रन , भ्यान डर दुसेनले २५ रन र ओपनर तथा विकेट किपर ब्याट्सम्यान क्विन्टन डि कोक २० रन बनाएका थिए ।

बलिङमा आयरल्यान्डका मार्क अडायरले ३ विकेट तथा सिमि सिंह र जोशुआले २-२ विकेट लिए ।

अब सिरिज अन्तर्गत दोस्रो खेल बिहिबार हुनेछ भने तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । टी- ट्वान्टी सिरिज भन्दा अघि यी दुई बीच तीन खेलको एकदिवसीय सिरिज भएको थियो । जहाँ १-१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्