onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियामाथि वेस्ट इन्डिजको अप्रत्याशित जित

एजेन्सी । वेस्ट इन्डिज र अष्ट्रेलियाबीचको पाँच खेलको टी- ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली वेस्ट इन्डिजले अप्रत्याशित जित हात पारेको छ ।

शनिबार बिहान भएको खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियामाथि अप्रत्याशित जित हात पार्ने क्रममा १८ रनले पराजित गरेको छ । खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्यलाई पछ्याएको अष्ट्रेलिया १६ ओभरमा अलआउट हुन् पुग्दा १ सय २७ रनमा सिमित हुन् पुग्यो ।

१ सय ८ रन हुँदा मात्र ५ विकेट गुमाएको अष्ट्रेलियाले १९ रन थप्दा आफ्नो सबै विकेट गुमायो । त्यस क्रममा अर्धशतक पूरा गरेका मिशेल मार्श पनि छ्ठौं विकेटका रुपमा पभेलियन फर्किएपछि अष्ट्रेलिया झन दबाबमा आएको थियो । इनिङ्सको सर्वाधिक रनकर्ता बनेका उनले ३१ बलमा ५ चौका र २ छ्क्काको सहयोगमा ५१ रन बनाएका थिए ।

यी बाहेक टोलीका लागि ओपनर तथा ओपनर ब्याट्सम्यान म्याथ्यू वेडले ३३ रन , मोइज हेनरिक्सले १६ रन र डेनियल क्रिश्चियनले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

अष्ट्रेलियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा ओबेड म्याकोय एक्लैले ४ विकेट हात पारे । आफ्नो स्पेलको ४ ओभर बलिङ गरेका उनले मात्र २६ रन खर्चिएर उक्त विकेट हात पारे । यस्तै हेडेन वाल्शले ३ तथा फेबियन एलेनले २ र आन्द्रे रसेलले १ विकेट चट्काए ।

त्यसअघि सेन्ट लुसियास्थित डैरेन सामी र्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

टिमले उक्त स्कोर खडा गर्ने क्रममा आक्रमक ब्याट्सम्यान आन्द्रे रसेलले अर्धशतकीय पारी खेले । २८ बलको सामना गरेका उनले छ्ठौं विकेटका रुपमा आउट हुनुअघि ३ चौका र ५ छ्क्कासहित ५१ रन बनाए । यस्तै ओपनर ब्याट्सम्यान लेन्डल सिमन्सले २७ रन तथा शिमरोन हेटमाइयरले २० रन र कप्तान निकोलस पूरानले १७ रन थपे ।

बलिङमा अष्ट्रेलियाका लागि जोश हेजलवुडले ३ तथा मिशेल मार्शले २ विकेट लिए । अब यी दुईबीचको दोस्रो खेल आईतबार बिहान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्