श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज इंग्ल्यान्डलाई
एजेन्सी । श्रीलंकाविरुद्धको तिन खेलको एकदिवसीय सिरिज घरेलु टोली इंग्ल्यान्डले आफ्नो नाममा लेखाउन सफल भएको छ । सिरिज आफ्नो पक्षमा पार्न सफल भएको इंग्ल्यान्डले सिरिजको दोस्रो खेलमा पाहुना टोली श्रीलंकालाई ८ विकेटले पराजित गरेको छ ।
बिहिबार राति लन्डनमा भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको २ सय ४२ रनको चुनौतीलाई इंग्ल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डको सहज जितमा कप्तान इयोन मोर्गन र जो रुटले उत्कृष्ट साझेदारी गरे । खेललाई सहज जिततर्फ डोराएका यि दुई बीच १ सय ४० रनको साझेदारी हुन् पुगेको थियो । जस क्रममा अविजित रहेका मोर्गन र रुटले क्रमशः ७५ र ६८ रन बनाएका थिए ।
त्यसअघि १२.४ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका जेसन रोयले ६० रन र अर्का ओपनर तथा विकेट किपर ब्याट्सम्यान जोनी बेयरस्टोले २९ रन थपे ।
बलिङमा श्रीलंकाका वनिन्दु हसरंगा र चमिका करुणारत्नेले १-१ विकेट लिन सफल भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो ।
श्रीलंकाले उक्त स्कोर खडा गर्ने क्रममा उसका लागि धनंजया डि सिल्वाले सर्वाधिक ठूलो पारी खेले । ९१ बलको सामना गरेका उनले १३ चौकासहित ९१ रन बनाएका थिए । यस्तै दासुन शनाकाले ४७ रन र वनिन्दु हसरंगाले २६ रन बनाए ।
बलिङतर्फ इंग्ल्यान्डका साम कुरान एक्लैले ५ विकेट हात पारे । भने डेभिड विलेले ४ विकेट चट्काए ।
सिरिज अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको थियो ।अब सिरिजको तेस्रो तथा अन्तिम खेल आईतबार हुनेछ ।