onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतलाई हराउँदै न्युजिल्यान्ड टेस्ट च्याम्पियन

एजेन्सी । न्युजिल्यान्डले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि उचालेको छ ।बुधबार राती सकिएको फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड पहिलो संस्करणको च्याम्पियन बनेको हो ।

इंग्ल्यान्डको साउथह्याप्टनस्थित दी रोज बाउल स्टेडियममा भएको खेलमा भारतले प्रस्तुत गरेको १ सय ३९ रनको चुनौतीलाई पछ्याएको न्युजिल्यान्डले ४५.५ ओभरमा मात्र २ विकेट गुमाएर उक्त चुनौतीलाई पार गरेको थियो ।

टिमलाई च्याम्पियन बनाउने क्रममा न्युजिल्यान्डका कप्तान केन विलियमसनले कप्तानी पारी खेले । अविजित रहेका उनले ८९ बलमा ८ चौकासहित ५२ रन बनाए । यस्तै विलियमसनलाई साथ दिएका रस टेलरले पनि अविजित रहदै ४७ रन जोड्दा न्युजिल्यान्डलाई जितका लागि प्रयाप्त बन्यो ।

बलिङतर्फ आश्विनले २ विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले आफ्नो पहिलो इनिङ्समा २ सय १७ रन बनाएको थियो । उसका लागि अजिक्या राहनेले सर्वाधिक ४९ रन बनाउदा कप्तान विराट कोहलीले ४४ तथा रोहित शर्माले ३४ रन र शुभमन गिलले २८ रन थपेका थिए ।

बलिङतर्फ न्युजिल्यान्डका काइल जेमिसन एक्लैले ५ विकेट लिएका थिए । भने ट्रेंट बोल्ट र नील वागनरले २-२ विकेट लिँदा टिम साउथीले १ विकेट लिएका थिए ।

त्यसपछि पहिलो इनिङ्समा न्युजिल्यान्डले २ सय ४९ रन बनाउँदा भारत दोस्रो इनिङ्समा १ सय ७० रनमा सिमित हुन् पुगेको थियो । दोस्रो इनिङ्समा भारतका लागि विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले सर्वाधिक ४१ रन तथा ओपनर ब्याट्सम्यान रोहित शर्माले ३० रन थपेका थिए ।

दोस्रो इनिङ्समा भारतको ब्याटिङ ध्वस्त पार्ने क्रममा न्युजिल्यान्डका टिम साउथीले ४ तथा ट्रेंट बोल्टले ३ विकेट लिएका थिए । भने काइल जेमिसनले २ र नील वागनरले १ विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्