onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राजस्थानमाथि मुम्बईको सहज जित

एजेन्सी । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल )मा राजस्थान रोयल्समाथि सहज जित हासिल गरेको छ ।

राजस्थानमाथि सहज जित हासिल गर्ने क्रममा मुम्बईले बिहीबार दिनको पहिलो खेलमा ७ विकेटले पराजित गर्यो ।

खेलमा राजस्थानले प्रस्तुत गरेको १ सय ७२ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले उक्त चुनौतीलाई १८.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

मुम्बईको सहज जितमा ओपनर ब्याट्सम्यान क्विन्टन डि कोकले सर्वाधिक ७० रन बनाए । अविजित रहेका उनले ५० बलमा ६ चौका र २ छ्क्कासहित ७० रन बनाए ।

यस्तै कुर्नाल पान्डेयाले ३९ रन तथा सुर्य कुमार यादवले १६ रन बनाउँदा किरण पोलार्ड १६ रनमा अविजित रहे ।

बलिङमा राजस्थानका क्रिस मोरिसले २ तथा मुस्तफिजुर रहमानले १ विकेट लिए ।

त्यसअघि दिल्लीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

राजस्थानले उक्त रन बनाउने क्रममा उसका लागि कप्तान तथा विकेट किपर ब्याट्सम्यान सन्जु सैमसनले सर्वाधिक ठूलो पारी खेले । २७ बलको सामना गरेका उनले ५ चौकासहित ४२ रनको योगदान गरे ।

सन्जुसँगै ओपनर ब्याट्सम्यान जोस बटलरले ३२ बलमा ३ चौका र ३ छ्क्कासहित ४१ रन बनाउँदा अर्का ओपनर यशस्वि जैसवालले ३२ र शिभव दुवेले ३५ रन बनाए ।

बलिङतर्फ मुम्बईका राहुल चहरले २ तथा जसप्रित बुमराह र ट्रेंट बोल्टले १-१ विकेट लिए ।

यो जितसँगै मुम्बईले अंकतालिकामा ६ अंक जोड्दै चौथों स्थानमा यथावत रहेको छ । भने राजस्थानको ४ अंक मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्