onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुम्बईले कोलकतालाई हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत मुम्बई इन्डियन्सले पहिलो जित आत्मसाथ गरेको छ ।

प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा मुम्बईले मंगलबार राति कोलकता नाइट राईडर्सलाई १० रनले पराजित गर्यो ।

खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ५३ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कोलकता २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमा सिमित हुन् पुग्दा मुम्बईलाई प्रतियोगितामा पहिलो जित हासिल गर्न प्रयाप्त बन्यो ।

मध्यम लक्ष्यलाई पछ्याएको कोलकताको सुरुवात पनि निकै राम्रो भएको थियो । त्यस क्रममा ओपनर ब्याट्सम्यान नितिश राना र सुभमन गिलले राम्रो सुरुवात दिलाउने क्रममा ७२ रनको ओपनिङ साझेदारी गरेका थिए । जसमा नितिशले सर्वाधिक ठूलो पारी खेले । अर्धशतक पूरा गरेका उनले ४७ बलमा ६ चौका र २ छ्क्कासहित ५७ रन बनाए । यस्तै अर्का ओपनर शुभमन गिलले ३३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न नसक्दा टिम पराजित हुन् पुग्यो ।

बलिङमा मुम्बईका राहुल चाहरले ४ विकेट लिए भने ट्रेंट बोल्टले २ तथा कृणाल पान्डेयाले १ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

टिमले उक्त स्कोर बनाउने क्रममा मुम्बईका सुर्य कुमार यादवले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ७ चौका र २ छ्क्काको मद्धतमा ५६ रन बनाए । यस्तै ओपनर ब्याट्सम्यान तथा टिम कप्तान रोहित शर्माले ४३ रन थपे । उनले उक्त रन बनाउने क्रममा ३२ बलमा ३ चौका र १ छ्क्का प्रहार गरे ।

यी दुई बाहेक हार्दिक पान्डेया र कृणाल पान्डेयाले १५-१५ रन बनाउँदा राहुल चाहरले ८ रन थपे ।

बलिङमा कोलकताका लागि आन्द्रे रसेल एक्लैले ५ विकेट चट्काए । मात्र २ ओभर बलिङ गरेका उनले १५ रन खर्चिएर उक्त विकेट हात पार्दा प्याट कमिन्सले २ तथा प्रसिद्ध कृष्ण, वरुण चक्रवर्ती र शकिव अल हसनले १-१ विकेट लिए ।

यो जितसँगै मुम्बई २ खेलमा २ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । भने २ खेलबाट २ अंक नै रहेको कोलकता अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्