onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नितिशको उत्कृष्ट ब्याटिङमा कोलकताको विजयी सुरुवात

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) मा कोलकता नाइट राईडर्सले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा कोलकताले आईतबार राति सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ ।

खेलमा कोलकताले प्रस्तुत गरेको १ सय ८८ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको हैदराबाद निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रनमा सिमित हुन् पुगेपछि नजिता कोलकतातर्फ गएको थियो ।

हैदराबादका लागि मनिष पाण्डे र जोनी बेयरस्टोको जोडीले राम्रो ब्याटिङ गर्यो । त्यस क्रममा अविजित रहेका पाण्डेले ४४ बलमा २ चौका र ३ छ्क्कासहित ६१ रनको योगदान गर्दा जोनी बेयरस्टोले ५५ रन बनाए ।

यी दुई बाहेक मोहम्मद नबीले १४ रन , विजय संङ्खरले ११ र अविजित रहेका अब्दुल सम्सादले १९ रन बनाएका थिए ।

बलिङमा कोलकताका प्रसिद्ध कृष्णले २ तथा शकिव अल हसन,प्याट कमिन्स र आन्द्रे रसेलले १-१ विकेट लिए ।

त्यसअघि चेन्नईस्थित एमए चिदंबरम स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो ।

टिमले बलियो योगफल बनाउने क्रममा उसका लागि  ओपनर ब्याट्सम्यान नितिश रानाले सानदार ब्याटिङ गरे । ५६ बलको सामना गरेका उनले ९ चौका र ४ छ्क्कासहित ८० रनको योगदान गरे ।

यस्तै टिमका लागि राहुल त्रिपाठीले ५३ रन बनाउँदा विकेट किपर ब्याट्सम्यान दिनेश कात्तिक २२ रनमा अविजित रहे ।

बलिङमा हैदराबादका राशिद खान र मोहम्मद नबीले २-२ विकेट लिँदा भुवनेश्वर कुमार र टि नटराजनले १-१ विकेट हात पारे ।

प्रतियोगिता अन्तर्गत सोमबार राजस्थान रोयल्स र पन्जाव किग्सबीच प्रतिष्पर्दा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि मुम्बईमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्