onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफ च्याम्पियन

काठमाडौं (अनलाइन खेल खबर ) । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले उचालेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।

खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्यलाई एपीएफले १६.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई च्याम्पियन बनाउने क्रममा एपीएफकी ओपनरद्वय ज्योती पाण्डे र सीता राना मगरले क्रमशः ३६ र २७ रन बनाउँदा अविजित रहेकी इन्दु वर्माले १९ रन जोड्दा ममता चौधरी पनि १५ रनमा अविजित रहिन ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

टिमले सम्मानजनक स्कोर खडा गर्ने क्रममा उसका लागि विन्दु रावलले सर्वाधिक ठूलो पारी खेलिन् । अविजित रहेकी उनले ५४ बलमा ४ चौकाको सहयोगमा ४४ रनको योगदान गरिन् ।

यस्तै टिमका लागि ओपनर ब्याटरद्वय रेवती धामी र डलि भट्टले क्रमशः १० र १४ रन बनाउँदा कविता कुँवरले १३ रन थपेकी थिइन् ।

बलिङमा एपीएफकी शुष्मा श्रेष्ठ , करुणा भण्डारी , सीता राना मगर , विन्दु बुढा र रेखा रावलले १-१ विकेट लिए ।

उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त उप – विजेता बनेको सुदूरपश्चिमले १ लाख ५० हजार प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस्