onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराट चम्कँदा भारतको सहज जित

एजेन्सी । घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको पाँच खेलको टि-ट्वान्टी सिरिजको दोस्रो खेल आफ्नो पक्षमा पारेको छ ।

आईतबार राति भएको खेलमा भारतले पाहुना टोली इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्यो । खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १ सय ६५ रनको विजयी चुनौतीलाई भारतले १७.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

भारतलाई सहज जित दिलाउने क्रममा कप्तान विराट कोहलीले कप्तानी पारी खेले । अविजित रहेका उनले ४९ बलमा ५ चौका र ३ छ्क्कासहित ७३ रनको योगदान गरे । त्यसअघि इशान किशनले ५६ रन तथा विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले २६ रन बनाए ।

बलिङतर्फ इंग्ल्यान्डका साम कुरान ,क्रिस जोर्डन र आदिल राशिदले १-१ विकेट लिए ।

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

टिमले प्रतिष्पर्दात्मक योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान जेसन रोयले सर्वाधिक ठूलो पारी खेले । ३५ बलको सामना गरेका उनले ४ चौका र २ छ्क्कासहित ४६ रन बनाए । यस्तै कप्तान इयोन मोर्गनले २८ रन,डेविड मालन र बेन स्टोक्सले २४-२४ रन बनाउँदा जोनी बेयरस्टोले २० रन थपे ।

बलिङतर्फ भारतका वासिङट्न सुन्दर र सार्दुल ठाकुरले २-२ विकेट लिए भने भुवनेश्वर कुमार र युजभेन्द्र चहलले १-१ विकेट हात पारे ।

यो सँगै सिरिज १-१ को बराबरीमा पुगेको छ । सिरिज अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । अब सिरिजको तेस्रो खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्