onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं (अनलाइन खेल खबर) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान समेत रहेका अलराउन्डर दीपेन्द्र सिंह एरी काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चयन भएका छन् ।

प्रतियोगिताको च्याम्पियन नेपाल पुलिस क्लबका महत्त्वपूर्ण सदस्य दीपेन्द्रले प्रतियोगिता भर ब्याट र बलले प्रभावित पारेका थिए । त्यसैको फलस्वरुप दीपेन्द्र प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी घोषित भएका छन् ।

दीपेन्द्रले प्रतियोगिता अवधिमा ५ खेलबाट ८ विकेट लिँदा १ सय ७६ रन बनाएका थिए । पहिलो खेलमा बागमतीविरुद्ध शून्य रनमा आउट भएपनि बलिङमा भने उनले ४ विकेट लिएका थिए ।

यस्तै दोस्रो खेलमा एपिएफविरुद्ध उनले शतकीय पारी खेल्ने क्रममा १ सय ४० रन बनाए भने बलिङतर्फ १ विकेट लिएका थिए । भने त्यसपछिका दुई खेलमा क्रमश: आर्मी र मेयर -११ सँग १ रन र २४ रनमा उनि आउट हुन् पुगेका थिए । आर्मीविरुद्ध विकेट विहिन रहेका उनले मेयर -११ विरुद्ध भने ३ विकेट हात पारेका थिए ।

यस्तै फाइनल खेलमा एपिएफविरुद्ध उनि ११ रनमा अविजित रहे । प्रतियोगितामा पुलिसले उपाधि उचाल्ने क्रममा एपीएफलाई ८ विकेटले पराजित गरेको थियो ।

विजेतासँगै पुलिसले नगद पाँच लाख प्राप्त गर्दा एपीएफले ३ लाख प्राप्त गर्यो । विधागततर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका दीपेन्द्रले ५० हजार प्राप्त गर्दा उत्कृष्ट ब्याट्सम्यान भएका आर्मीका कप्तान विनोद भण्डारी र उत्कृष्ट बलर बागमती प्रदेशका अरियो पौडेलले जनही २५-२५ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्