onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौं मेयर्स कपको उपाधि नेपाल पुलिसलाई

काठमाडौं (अनलाइन खेल खबर ) । विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

प्रतियोगिताको उपाधि उचाल्ने क्रममा शनिबार भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफलाई ८ विकेटले पराजित गर्दै पुलिस प्रतियोगिताको च्याम्पियन बन्यो ।

खेलमा एपीएफले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष्यलाई पुलिसले २४.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । टिमलाई च्याम्पियन गराउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सानदार ब्याटिङ गरे । अविजित रहेका उनले ८२ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५९ रनको योगदान गरे ।

यस्तै कुशल भुर्तेल र अनिल शाहले १५-१५ रन बनाउँदा दीपेन्द्र सिंह एरी ११ रनमा अविजित रहे । बलिङमा एपीएफका अभिनाश बोहरा र भुवन कार्कीले १-१ विकेट लिए

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनायो ।

टिमले खराब ब्याटिङ गर्ने क्रममा उसका सुरुवाती तिन खेलाडीले निकै निराशाजनक प्रदर्शन गरे । पहिलो ओभरको पाँचौ बलमा गुलशन झाको बलमा विकेट किपर अनिल शाहको हातबाट पहिलो विकेटका रुपमा आउट हुन् पुगेका संखर रानाले मात्र २ रन बनाए । उनि आउट भए लगत्तै अर्का ओपनर मोहम्मद आशिफ शेख र कप्तान शरद भेषवाकर शून्य रनमा आउट हुन् पुगेपछि एपीएफ सुरुवाती अवस्था बाटै दबाबमा आएको थियो ।

त्यसपछि भुवन कार्की र सन्दीप जोराले टिमको पारीलाई उकास्न प्रयास गरेको भएपनि यी दुईले पनि ठूलो पारी खेल्न सकेनन् । जसमा भुवनले १४ तथा जोराले १८ रन बनाए । यस्तै अत्यमा बसन्त रेग्मीले २२ रन र अमर सिंह रौटेलाले १८ रन थप्दा टिमले सय रनको आँकडा पुरा गरेको थियो ।

एपीएफको पारीलाई ध्वस्त पार्ने क्रममा पुलिसका तीब्र गतिका बलर गुलशन झा र स्पिनर सागर ढकालले ४-४ विकेट लिए भने पवन सरार्फ र ललित राजबम्शीले १-१ विकेट लिएका थिए ।

उपाधिसँगै नेपाल पुलिस क्लबले नगद पाँच लाख प्राप्त गर्दा उप –विजेता बनेको एपीएफले तिन लाख प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस्