onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

समर्थकको नाममा ७७ नम्बरको सिट

काठमाडौं (अनलाइन खेल खबर ) ।धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको ७७ नम्बर सिटलाई नेपाली क्रिकेट फ्यान अन फेसबुक ग्रुप (एनसीएफएफ) ले आफ्नो नाममा सुरक्षित गर्न सफल भएको छ ।

रंगशालालाई आफ्नो अपनत्व गराउने उदेश्यका साथ हाम्रो रंगशालामा मेरो कुर्सी अवधारणा अनुरुप एनसीएफएफले आफ्नो उपस्थितिलाई पक्का गरेको हो ।

शनिबार एनसीएफएफले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको परिषरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग रकम प्रदान गरेको थियो । जस अन्तर्गत फाउन्डेसन प्रतिनिधि कुमार कट्टेललाई एनसीएफएफका सदस्य सन्जिव खड्काले १ लाखको चेक हस्तान्तरण गरेका थिए ।

मेरो कुर्सी अवधारणा अनुरुप एनसीएफएफले सहयोग गरेपछि कुमार कट्टेलले आफ्नो देशमा बनिरहेको रंगशालामामा सकारात्मक सोच बोकेका युवाहरुको योगदानलाई सम्मान गर्दै एनसीएफएफ परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

फेसबुकमा रहेका क्रिकेट समर्थकहरुको समूह एनसीएफएफले आफुहरुले संकलन गरेको रकममार्फत यस अवधारणामा सामेल भएको हो । सिटको नाम भने नेपालका पूर्व कप्तान पारस खड्का प्रति समर्पित रहेको छ ।

यता यस अभियानमा जोडिनका लागि १ लाख रुपैयाँ सहयोग गरेर कुर्सीमा आफ्नो नाम उल्लेख गर्न सकिने छ । रंगशालामा सबैलाई अपनत्व महसुस होस् भन्ने अभिप्रायले यो अभियान सञ्चानल गरेको फाउण्डेसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्