onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतको पहिलो हार

एजेन्सी । रोड सेफ्टी वर्ल्ड टि- ट्वान्टी सिरिजमा भारत लेजेन्ड्सले पहिलो हार ब्यहोरेको छ । प्रतियोगितामा पहिलो हार ब्यहोर्ने क्रममा भारत इंग्ल्यान्ड लेजेन्ड्ससँग ६ रनले पराजित हुन् पुग्यो ।

रोमान्चक बनेको खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १ सय ८९ रनको विजयी लक्ष्यलाई पछ्याएको भारत निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रनमा सिमित हुन् पुग्यो ।

भारतका लागि इर्फान पठानले अर्धशतकीय पारी खेले । टिमलाई जितको धेरै नजिक पुर्याएका उनि अविजित रहदै ६१ रनको योगदान गरे । त्यस क्रममा ३४ बलको सामना गरेका उनले ४ चौका र ५ छ्क्का प्रहार गरे ।

यस्तै मनप्रित गोनिले ३५ रन ,युवराज सिंहले २२ रन, युसुफ पठानले १७ रन र कप्तान सचिन तेन्दुलकरले ९ रन बनाएका थिए ।

बलिङमा इंग्ल्यान्डका मोंटी पनेसरले ३ तथा
जेम्स ट्रिडवेलले २ विकेट हात पार्दा मैथ्यू होगार्ड र रयान जेले १-१ विकेट लिए ।

त्यसअघि रायपुरस्थित सहिद भिर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान तथा टिम कप्तान केविन पीटरसनले कप्तानी पारी खेले ।मात्र ३७ बलको सामना गरेका उनले ६ चौका र ५ छ्क्कासहित ७५ रनको योगदान गरे । यस्तै डैरेन मैडीले २९ तथा क्रिस शफिल्ड र गेविन हैमिल्टनले समान १५ रन बनाए ।

बलिङमा भारतका युसुफ पठानले ३ तथा इर्फान पठानले र मुनाफ पटेलले २-२ विकेट लिए ।

यो जितसँगै इंग्ल्यान्ड लगातार दुई खेलमा जित निकाल्दै ८ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । यता पराजित भारत ४ खेलबाट ३ मा जित र १ मा हारसहित १२ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा यथावतनै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्