onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौंले आज महत्त्वपूर्ण खेलमा पुलिसको सामना गर्दै

काठमाडौं (अनलाइन खेल खबर )। सन्दीप लामिछानेको नेतृत्वमा रहेको काठमाडौं मेयर-११ ले काठमाडौं मेयर्स कपको आफ्नो तेस्रो खेलमा आज बुधबार नेपाल पुलिस क्लबको सामना गर्दैछ ।

बिहान सवा ९ बजेपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने क्रममा मेयर-११ स्पष्ट जितको खोजिमा हुनेछ । अहिलेसम्म २ खेल खेलेको मेयर-११ दुई अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।

यस्तोमा पुलिसलाई हराएको खण्डमा मेयर-११ को फाइनल खेल्ने समीकरण जिवितै रहनेछ । प्रतियोगिताको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै सुखद सुरुवात गरेको मेयर-११ दोस्रो खेलमा भने त्रिभुवन आर्मीसँग ५ विकेटले पराजित भएको थियो।

यता मेयर-११ लाई टक्कर दिन तयार पुलिसका लागि यो खेल उत्तिकै महत्त्वपूर्ण रहेको छ । ३ खेल खेलिसकेको पुलिस २ खेलमा जित र १ खेलमा हार ब्यहोर्दै अहिले ४ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।

यदी पुलिसले मेयर-११ लाई हराएको खण्डमा फाइनल पुग्ने पुलिस पहिलो टोली बन्नेछ । पराजित भएको खण्डमा भने पुलिसको सम्भावना पनि अरुको खेलमा निर्भर रहनेछ ।

प्रतियोगितामा पुलिसले पहिलो खेलमा बागमतीलाई २ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा पुलिस एपीएफसँग स्तब्ध हुन् पुग्दा तेस्रो खेलमा पुलिसले आर्मीलाई ३ विकेटले पराजित गरेको थियो ।

यो खेलपछि लिग चरणमा बिहिबार टियुमा बागमती प्रदेशले आर्मीको सामाना गर्दा सोही दिन मूलपानीमा एपीएफ र मेयर -११ को बीचमा प्रतिष्पर्दा हुनेछ । लिगको समाप्ति पछि अंकतालिकाको शीर्ष दुई टोलीबीच शनिबार उपाधिका लागि प्रतिष्पर्दा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्