onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सोनुको उत्कृष्ट बलिङमा बागमतीले एपीएफलाई हरायो

काठमाडौं (अनलाइन खेल खवर ) । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशले काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा बागमतीले मंगलबार विभागीय टोली एपीएफलाई २७ रनले पराजित गर्यो ।

खेलमा बागमतीले प्रस्तुत गरेको २ सय ३४ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ ४४.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर २ सय ६ रनमा सिमित हुन् पुगेपछि बागमतीलाई प्रतियोगितामा पहिलो जित हासिल गर्न प्रयाप्त बन्यो ।

एपीएफका लागि ओपनर ब्याट्सम्यान मोहम्मद आशिफ शेखले अर्धशतकीय पारी खेले । ३८ बलको सामना गरेका उनले ७ चौका र २ छ्क्कासहित ५० रन बनाए । यस्तै अमर सिंह रौटेलाले २७ तथा सन्दीप जोराले २५ रन र सङखर रानाले २९ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा एपीएफ बागमतीसँग स्तब्ध हुन् बाध्य भयो ।

एपीएफलाई जितबाट बन्चित गराउन ठूलो भूमिका निर्वाह गरेका बागमतीका सोनु देवकोटा एक्लैले ६ विकेट लिए । आफ्नो स्पेलको १० ओभर पूरै बलिङ गरेका उनले ४१ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै बलिङमा अरियो पौडेल र राम नरेश गिरीले पनि समान २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ५० ओभर पूरै ६ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

टिमले बलियो योगफल खडा गर्ने क्रममा उसका लागि तीब्र गतिका बलर नन्दन यादवले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ५६ बलको सामना गर्दै ७ चौका र २ छ्क्कासहित ६० रनको योगदान गरे । यस्तै टिमका लागि कप्तान तथा ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि अर्धशतकीय पारी खेले । ८४ बलको सामना गरेका उनले ७ चौकासहित ५७ रन बनाए ।

यी दुई बाहेक टिमका लागि पारस खड्काले २९ रन , ईशान पाण्डेले ३१ रन र आदिल खानले ३४ रनको योगदान गरेका थिए ।

बलिङतर्फ एपीएफका किशोर महतो र अमर सिंह रौटेलाले दुई-दुई विकेट लिँदा अभिनाश बोहरा र बसन्त रेग्मीले एक -एक विकेट लिए ।

यो सँगै प्रतियोगितामा ३ खेल खेलेको बागमतीले पहिलो जित निकाल्दा ३ खेलनै खेलेको एपीएफको भने यो पहिलो हार हो । यसअघि एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गर्दा दोस्रो खेलमा पुलिसमाथि पनि १ विकेटको जित हासिल गरेको थियो । यस्तै बागमती पहिलो खेलमा पुलिससँग २ रनले र दोस्रो खेलमा काठमाडौं मेयर -११ सँग ९४ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्