onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

श्रीलंकाविरुद्धको टि – ट्वान्टी सिरिज वेस्ट इन्डिजलाई

काठमाडौं (अनलाइन खेल खबर ) । घरेलु टोली वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टि- ट्वान्टी सिरिज आफ्नो नाममा लेखाउन सफल भएको छ ।

सिरिज अन्तर्गत सोमबार बिहान भएको अन्तिम खेलमा वेस्ट इन्डिजले श्रीलंकालाई ३ विकेटले पराजित गरेसँगै घरेलु टोली वेस्ट इन्डिजले सिरिज समग्रमा २-१ ले आफ्नो पक्षमा पार्यो ।

खेलमा श्रीलंकाले प्रस्तुत गरेको १ सय ३२ रनको लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले उक्त चुनौतीलाई १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

वेस्ट इन्डिजको जितमा ओपनरद्वय लेन्डल सिमन्स र एभिन लुइसले क्रमशः २६ तथा २१ रनको योगदान गर्दा विकेट किपर ब्याट्सम्यान निकोलस पूरनले २३ रन तथा अविजित रहेका जोसन होल्डरले १४ रन बनाए ।

बलिङतर्फ श्रीलंका का लखन संडकनले ३ तथा दुश्मन्था चमेरा र वनिन्दु हसरंगाले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

टिमले मध्यम योगफल खडा गर्ने क्रममा उसका लागि दिनेश चंडीमलले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ४६ बलमा ३ चौकासहित ५४ रनको योगदान गरे ।

यस्तै अविजित रहेका आशेन बंडाराले ४४ रन बनाउँदा कप्तान एंजेलो मैथ्यूजले ११ रन बनाए ।

बलिङतर्फ वेस्ट इन्डिजका फेबियन एलेन,केभिन सिन्क्लेयर, जोसन होल्डर र ओबेड म्याकोकोइले १-१ विकेट लिए ।

सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिज ४ विकेटले विजयी हुँदा दोस्रो खेल श्रीलंकाले ४३ रनले जितेको थियो । अब यि दुईबीच तीन एकदिवसीय र दुई खेलको टेष्ट सिरिज हुनेछ । एकदिवसीय सिरिजको पहिलो खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्