onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पुलिसमाथि एपीएफको रोमान्चक जित

काठमाडौं (अनलाइन खेल खबर )। विभागीय टोली एपीएफले काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा एपीएफले आईतबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्यो ।

निकै रोमान्चक बनेको खेलमा पुलिसले प्रस्तुत गरेको २ सय ५९ रनको विजयी लक्ष्यलाई एपीएफले एक बल बाँकी रहेको अवस्थामा पूरा गर्यो ।

बलियो लक्ष्यलाई पछ्याएको एपीएफको सुरुवात राम्रो हुन् पुगेको थियो । टिमलाई ठोस सुरुवात दिलाउने क्रममा ओपनरद्वय सुवाश खकुरेल र मोहम्मद आशिफ शेखले राम्रो ब्याटिङ गर्ने क्रममा ६७ रनको साझेदारी हुन् पुगेको थियो ।

१३.४ ओभरमा योगेन्द्र सिंह कार्कीको बलमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेका आशिफले ४८ बलमा ५ चौका र १ छ्क्कासहित ४२ रन बनाउँदा अर्का ओपनर सुवाशले अर्धशतक पूरा गरे । ७९ बलको सामना गरेका उनले ६ चौकाको मद्धतमा ५० रन जोडे ।

यि दुई खेलाडी बाहेक टिमका लागि सन्दीप जोराले ६१ तथा अविजित रहेका सुमित महर्जनले ३३ रनको योगदान गरे ।

बलिङतर्फ पुलिसका पवन सरार्फ एक्लैले ५ विकेट हात पारे । भने योगेन्द्र सिंह कार्कीले २ तथा ललित राजबम्शि र दिपेन्द्र सिंह एरीले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो ।

टिमले उक्त योगफल खडा गर्ने क्रममा दिपेन्द्र सिंह एरीले सानदार ब्याटिङ गरे । घरेलु क्रिकेट करियरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले शतकीय पारी खेले । अभिनास बोहराको बलमा सातौ विकेटका रुपमा विकेट किपर सुवास खकुरेलको हातबाट क्याच आउट हुनुअघि उनले १ सय ३१ बलमा ११ चौका र ६ छ्क्कासहित १ सय ४० रनको योगदान गरे ।

दिपेन्द्र बाहेक टोलीका लागि पवन सरार्फले ३५ तथा सुनिल धमलाले ३३ र अनिल शाहले १८ रन बनाएका थिए ।

बलिङतर्फ एपीएफका कप्तान शरद भेषावकरले ३ तथा अभिनाश बोहराले २ र अमर सिंह रौटेलाले १ विकेट लिए ।

प्रतियोगितामा यो एपीएफको लगातार दोस्रो जित हो । पहिलो खेलमा एपीएफले आर्मीलाई १ विकेटले पराजित गरेको थियो । यता एपीएफसँग पराजित भएको पुलिसको भने यो पहिलो हार हो । यसअघि पुलिसले बागमती प्रदेशलाई २ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्