onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियाविरुद्धको सिरिज घरेलु टोली न्युजिल्यान्डलाई

एजेन्सी । घरेलु टोली न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टि- २० सिरिज आफ्नो नाममा लेखाउन सफल भएको छ ।

सिरिज अन्तर्गत आईतबार भएको पाँचौ तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै सिरिज न्युजिल्यान्डले ३-२ ले आफ्नो पक्षमा पारेको हो ।

खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ४३ रनको विजयी लक्ष्यलाई न्युजिल्यान्डले १५.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

न्युजिल्यान्डको जितमा ओपनर ब्याट्सम्यान
मार्टिन गुप्टिलले सर्वाधिक ठूलो पारी खेले । ४६ बलको सामना गरेका उनले ७ चौका र ४ चौकासहित ७१ रनको योगदान गरे । यस्तै अर्का ओपनर डेभन कोन्वेले ३६ तथा अविजित रहेका ग्लेन फिलिप्सले ३४ रन बनाए ।
बलिङतर्फ अष्ट्रेलियाका रिले मेरिथले २ तथा झेय रिचर्डसनले १ विकेट लिएका थिए ।

त्यसअघि वेस्टपट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

टिमले मध्यम योगफल खडा गर्ने क्रममा उसका लागि विकेट किपर ब्याट्सम्यान म्याथ्यू वेडले सर्वाधिक ठूलो पारी खेले ।२९ बलको सामना गरेका उनले ३ चौका र २ छ्क्कासहित ४४ रनको योगदान गरे । यस्तै ओपनर ब्याट्सम्यान तथा टिमका कप्तान आरोन फिन्चले ३२ बलमा ५ चौका र १ छ्क्काको मद्धतमा ३६ रन बनाउँदा मार्कस स्टोइनिसले २६ रन थपेका थिए ।

बलिङतर्फ न्युजिल्यान्डका लागि ईश सोधीले ३ तथा ट्रेंट बोल्ट र टिम साउथीले २-२ र मार्क चैपम्यानले १ विकेट लिए ।

यसअघि सिरिज अन्तर्गत पहिलो खेलमा अष्ट्रेलिया न्युजिल्यान्डसँग ५३ रन र दोस्रो खेलमा ४ रनले पराजित हुन् पुगेको थियो । तेस्रो खेल भने अष्ट्रेलियाले ६४ रनले आफ्नो पक्षमा पार्दा चौथों खेलमा पनि अष्ट्रेलियाले ५० रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्