onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लेजेन्ड्सको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई हरायो

एजेन्सी । भारतमा जारी रोड सेफ्टी वर्ल्ड टि- ट्वान्टी सिरिजमा श्रीलंका लेजेन्ड्सले दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा श्रीलंका लेजेन्ड्सले शनिबार राति वेस्ट इन्डिज लेजेन्ड्सलाई ५ विकेटले पराजित गर्यो ।

खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्यलाई पछ्याएको श्रीलंकाले उक्त चुनौतीलाई १९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

टिमको जितमा उपुल थरंगाले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ३५ बलको सामना गर्दै ८ चौकासहित ५३ रन बनाए । यस्तै टिमका कप्तान तिलकरत्ने दिलशानले ४७ रनको योगदान गरे । ३७ बलको सामना गरेका उनले ८ चौकासहित उक्त रन बनाएका थिए । यि दुई बाहेक चमार सिल्वाले २२ तथा सनत जयसूर्याले १२ रन बनाए ।

बलिङतर्फ वेस्ट इन्डिजका टीनो बेस्ट र सुलिमान बेनले २-२ विकेट लिए भने रायन अस्टिनले १ विकेट लिए ।

त्यसअघि रायपुरस्थित सहिद भिर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

टिमले सम्मानजनक योगफल गर्ने क्रममा उसका लागि ब्रायन लाराले अर्धशतकीय पारी खेलेका थिए । अविजित रहेका उनले ४९ बलको सामना गर्दै ८ चौकाको मद्धतमा ५३ रन बनाए । यस्तै टिमका लागि ड्वेन स्मिथले ४७ रनको योगदान गर्दा ओपनर तथा विकेट किपर ब्याट्सम्यान विलियम पर्किन्सले १९ रन बनाए ।

बलिङतर्फ श्रीलंका लेजेन्ड्सका कप्तान तिलकरत्ने दिलशान र चिन्थाक जयसिंघेले एक -एक विकेट लिए ।

प्रतियोगितामा श्रीलंकाले ३ बाट २ खेलमा जित निकाल्दा वेस्ट इन्डिजको यो लगातार तेस्रो हार हो ।

अब प्रतियोगिता अन्तर्गत आईतबार इंग्ल्यान्ड लेजेन्ड्सले बंगलादेशको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्