onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आर्मीमाथि एपीएफको रोमान्चक जित

काठमाडौं (अनलाइन खेल खबर ) । विभागीय टोली एपीएफले काठमाडौंमा जारी काठमाडौं मेयर कपमा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई रोमान्चक खेलमा १ विकेटले पराजित गर्दै एपीएफले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

खेलमा आर्मीले प्रस्तुत गरेको २ सय ३६ रनको विजयी लक्ष्यमा पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफले उक्त चुनौतीलाई ४९.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि युवा ब्याट्सम्यान सुमित महर्जनले अर्धशतकीय पारी खेले । इनिङ्सको सर्वाधिक ठूलो पारी खेल्ने क्रममा उनले ७८ बलमा ८ चौकासहित ६० रनको योगदान गरे ।

यस्तै अनुभवी खेलाडी बसन्त रेग्मीले ४९ रन बनाउँदा अमर सिंह रौटेलाले ३८ रन र संखर रानाले ३३ रन बनाए ।

बलिङततर्फ आर्मीका विक्रम शोबले ३ तथा करण केसीले २ विकेट लिए । यस्तै सोमपाल,शाहब आलम र लोकेश बमले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित ५० ओभर पूरै खेल्दै सबै विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो ।

टिमले बलियो योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यानद्वय सोमपाल कामी र लोकेश बमले ठोस सुरुवात दिलाएका थिए । १४.५ ओभरमा पहिलो विकेटको रुपमा पभेलियन फर्किएका सोमपाल र बमबीच ६१ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो । बसन्त रेग्मीको बलमा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट हुनुअघि सोमपालले ५३ बलमा २ चौका र २ छ्क्कासहित २८ रनको योगदान गरे । यस्तै अर्का ओपनर लोकेश बलले ३० रन बनाए । १९.६ ओभरमा टिमको स्कोर ७६ रन हुँदा दोस्रो विकेटका रुपमा आउट हुन् पुगेका लोकेशले उक्त रन बनाउने क्रममा ५१ बलमा ४ चौका प्रहार गरे ।

त्यसपछि भिम सार्कीले १८ रन जोड्दा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले । ७८ बलको सामना गरेका उनले ४ चौकासहित ५६ रन बनाए । यि बाहेक कप्तान विनोद भण्डारीको पारी पनि महत्त्वपूर्ण रहयो । त्यस क्रममा उनले ४२ रन बनाए । यस्तै अत्यमा राजेश पुलामि मगरले १७ रन थपे ।

बलिङतर्फ एपीएफका अभिनाश बोहराले ३ तथा अमर सिंह रौटेला र भुवन कार्कीले २-२ विकेट लिए भने कमल सिंह एरी र बसन्त रेग्मीले पनि १-१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्