onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतको सानदार जितमा सहवाग र सचिनको उत्कृष्ट साझेदारी

एजेन्सी । भारतमा जारी रोड सेफ्टी वर्ल्ड टि- ट्वान्टी सिरिजमा भारत लेजेन्ड्सले तेस्रो जित हासिल गरेको छ । प्रतियोगितामा तेस्रो जित हासिल गर्ने क्रममा भारत लेजेन्ड्सले शुक्रबार राति बंगलादेश लेजेन्ड्सलाई १० विकेटले पराजित गर्यो ।

खेलमा बंगलादेशले प्रस्तुत गरेको १ सय १० रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतले उक्त चुनौतीलाई १०.१ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्न सफल रहयो ।

भारतको सानदार जितमा ओपनरद्वय विरेन्द्र सहवाग र सचिन तेन्दुलकरनै प्रयाप्त रहे । जस अन्तर्गत सहवागले उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ३५ बलमा १० चौका र ५ छ्क्कासहित ८० रन बनाए । यस्तै सचिनले २६ बलमा ५ चौकासहित ३३ रनको योगदान गरे ।

त्यसअघि रायपुरस्थित सहिद भिर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले १९.४ ओभरमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो ।

उसका लागि ओपनर ब्याट्सम्यान नजिमुदिनले सर्वाधिक ठूलो पारी खेले ।३३ बलको सामना गरेका उनले ८ चौका र १ छ्क्कासहित ४९ रन बनाए । यस्तै जावेद ओमर र राजिन सलाहले १२-१२ रन बनाए ।

बलिङतर्फ भारतका विनय कुमार,प्रज्ञान ओझा र युवराज सिंहले २-२ विकेट लिए । भने मनप्रित गोनिले १ विकेट लिएका थिए ।

यो जितसँगै अंकतालिकाको शीर्ष स्थानमा रहेको भारत लेजेन्ड्सले ३ खेलबाट १० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्