पन्तले शतकीय पारी खेल्दा भारत राम्रो स्थितिमा
एजेन्सी । विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले शतकीय पारी खेलेपछि घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको चौथों तथा अन्तिम टेष्टको दोस्रो दिनको समाप्तिसम्ममा ८९ रनको अग्रता बनाएको छ ।
पहिलो इनिङ्समा भारत ९४ ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ९४ रन बनाईसकेको छ । क्रिजमा वासिंङटन सुन्दर ६० रन र अक्षर पटेलले ११ रन बनाएको अवस्थामा छन् ।
भारत राम्रो स्थितीमा पुग्ने क्रममा उसका लागि ऋषभ पन्तले सानदार ब्याटिङ गरे । १ सय १८ बलको सामना गरेका उनले १३ चौका र २ छ्क्काको मद्धतमा १ सय १ रन बनाए । यो उनको टेष्टतर्फ तेस्रो शतक समेत हो ।
यस्तै टोलीका लागि रोहित शर्माले १ सय ४४ बलमा ७ चौकासहित ४९ रन बनाउँदा अजिक्या राहाणेले २७ रन,चेतेश्वर पुजाराले १७ रन र रविचन्दन आश्विनले १३ रन बनाए । कप्तान विराट कोहली र ओपनर ब्याट्सम्यान शुभमन गिलले भने खाता खोल्न समेत सकेनन् ।
बलिङतर्फ इंग्ल्यान्डका जेम्स एंडरसनले ३ तथा बेन स्टोक्स र ज्याक लिचले २-२ विकेट लिए ।
बिहिबारबाट अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा २ सय ५ रन बनाएको थियो ।
त्यस क्रममा टिमका लागि बेन स्टोक्सले सर्वाधिक ५५ रन तथा डेनियल लरेन्सले ४६ रन र ओली पोपले २९ रन बनाएका थिए ।
बलिङमा भारतका अक्षर पटेलले चार तथा आश्विनले तीन विकेट लिए । भने सिराजले दुई र वासिंङटन सुन्दरले एक विकेट लिएका थिए ।