onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियाले न्युजिल्यान्डलाई फेरि हरायो

एजेन्सी । घरेलु टोली न्युजिल्यान्ड र अष्ट्रेलियाबीचको पाँच खेलको टि – ट्वान्टी सिरिजको चौथों खेलमा पाहुना टोलीले सानदार जित हासिल गरेको छ ।

सिरिजमा अर्को सानदार जित हासिल गर्ने क्रममा अष्ट्रेलियाले शुक्रबार न्युजिल्यान्डलाई ५० रनले पराजित गर्यो । खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ५७ रनको मध्यम लक्ष्यलाई पछ्याएको न्युजिल्यान्ड १८.५ ओभरमा अलआउट हुँदै १ सय ६ रनमा सिमित हुन् पुग्यो ।

टिमले निकै निराशाजनक ब्याटिङ गर्दा काइल जेमिसनले ३० तथा डेभन कोन्वेले १७ र ओपनर तथा विकेट किपर ब्याट्सम्यान टिम सेफर्टले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बलिङतर्फ न्युजिल्यान्डको पारी ध्वस्त पार्ने क्रममा केन रिचर्डसनले ३ तथा एस्टन अगर,एडम जम्पा र ग्लेन म्याक्सवेलले २-२ विकेट लिए ।

त्यसअघि वेस्टपट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

टिमले मध्यम स्कोर खडा गर्ने क्रममा उसका लागि कप्तान आरोन फिन्चले कप्तानी पारी खेले । अविजित रहेका उनले ५५ बलमा ५ चौका र ४ छ्क्काको सहयोगमा ७९ रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले १८ रन,मार्कस स्टोइनिसले १९ रन र ओपनर ब्याट्सम्यान म्याथ्यू वेडले १४ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका ईश सोधिले ३ तथा ट्रेंट बोल्टले २ र मिशेल सन्तनरले १ विकेट लिए ।

यो जितसँगै अष्ट्रेलियाले सिरिज पनि २-२ को बराबरीमा ल्याउन सफल भएको छ । सिरिज अन्तर्गत पहिलो खेलमा अष्ट्रेलिया न्युजिल्यान्डसँग ५३ रन र दोस्रो खेलमा ४ रनले पराजित हुन् पुगेको थियो । तेस्रो खेल भने अष्ट्रेलियाले ६४ रनले आफ्नो पक्षमा पारेको थियो । अब यी दुईबीचको अन्तिम तथा निर्णायक खेल आईतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्