पोलार्डले रचे इतिहास : वेस्ट इन्डिजको जितमा पोलार्डको ६ बलमा ६ छ्क्का
एजेन्सी । किरोन पोलार्डले एकै ओभरमा छ छ्क्का प्रहार गरेपछि वेस्ट इन्डिज र श्रीलंकाबीचको तीन खेलको टि – ट्वान्टी सिरिजमा घरेलु टोली वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ ।
सिरिजमा विजयी सुरुवात गर्ने क्रममा वेस्ट इन्डिजले पाहुना टोली श्रीलंकालाई बिहिबार बिहान ४ विकेटले पराजित गर्यो । खेलमा श्रीलंकाले प्रस्तुत गरेको १ सय ३२ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले उक्त चुनौतीलाई १३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
टिमलाई महत्त्वपूर्ण जित दिलाउने क्रममा किरोन पोलार्ड नायक सावित भए । टिमका कप्तान समेत रहेका उनले ११ बलमा ६ छ्क्कासहित ३८ रनको योगदान रहे । स्मरण रहोस् पोलार्डले उक्त ६ छ्क्का एकै ओभरमा प्रहार गरेका हुन् । इनिङको छ्ठौं ओभरमा श्रीलंकाका स्पिनर अकिला धनन्जयको बलमा
यो सम्भव भएको हो । यो सँगै एकै ओभरमा ६ छ्क्का प्रहार गर्ने पोलार्ड पहिलो वेस्ट इन्डिजका र विश्वमा भारतका युवराज सिंहपछि टि-ट्वान्टीमा दोस्रो खेलाडी बनेका छन् ।
यस्तै टोलीका लागि ओपनरद्वय लेन्डल सिमन्स र एभिन लुइसले क्रमशः २६ र २८ रन बनाउँदा अविजित रहेका जोसन होल्डरले २९ रन बनाए ।
बलिङमा श्रीलंकाका एकै ओभरमा ६ छ्क्का खाएका अकिला धनन्जयले ह्याट्रिक ३ विकेट लिए । यो सँगै उनि टि – ट्वान्टी अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने तेस्रो श्रीलंकन खेलाडी समेत बने । उनको ह्याट्रिक चौथों ओभरमा सम्भव भएको थियो । उनले चौथो ओभरको दोस्रो , तेस्रो र चौथों बलमा क्रमशः एभिन लुइस, क्रिस गेल र निकोलस पूरनलाई पभेलियनको बाटो देखाईदिएका थिए । यस्तै वनिन्दु हसारंगाले पनि ३ विकेट हात पारे ।
त्यसअघि कुलिज क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।
उसका लागि पथम निसान्काले सर्वाधिक ३९ तथा निरोशन डिकवेलाले ३३ रनको योगदान गरे ।
बलिङमा वेस्ट इन्डिजका ओबेड म्याकोयले २ तथा केभिन सिन्क्लेयर,फिडेल एडवर्ड्स, होल्डर , ब्राबो र फ्याबियन एलेनले १-१ विकेट लिए ।