onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारत र इंग्ल्यान्डको खेलमा अष्ट्रेलियाको नजर

एजेन्सी । घरेलु टोली भारत र इंग्ल्यान्डबीचको चौथो तथा अन्तिम टेष्ट आज बिहिबारबाट सुरु हुँदैछ । नेपाली समय अनुसार बिहान पौने १० बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सुरु हुने खेलमा अष्ट्रेलियाको नजर पनि रहने छ ।

यो खेलले आईसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल तय गर्नेछ । यस खेलबाट भारत वा अष्ट्रेलियाले न्युजिल्यान्डसँग भेट पक्का गर्नेछन् । चार खेलको टेष्ट सिरिजमा दुई खेल गुमाईसकेको इंग्ल्यान्ड भने फाइनल दौडबाट बाहिरिसकेको छ ।

यस्तोमा इंग्ल्यान्ड आफू फाइनलसम्म पुग्न नसकेपनि उसले अष्ट्रेलियालाई भने पुर्याउन सक्छ । यदी यो खेल इंग्ल्यान्डले जितेको खण्डमा अष्ट्रेलिया फाइनल पुग्नेछ भने घरेलु टोलीलाई यो खेल बराबरी मात्र गरे पुग्नेछ । खेल जिते सुनमा सुगन्ध थपिने छ ।

विश्व टेष्ट च्याम्पियनसिपको अंकतालिकामा शीर्ष स्थानमा रहेको भारतको ४ सय ९० अंक रहेको छ । यस्तै फाइनल पक्का गरिसकेको न्युजिल्यान्डको ४ सय २० अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा अष्ट्रेलिया रहेको छ । उसको अंकतालिकामा ३ सय ३२ अंक रहेको छ ।

विश्व टेष्ट च्याम्पियनसिपको फाइनल जून १८ देखि २२ सम्म इंग्ल्यान्डस्थित लर्ड्स क्रिकेट मैदानमा हुनेछ । यता सिरिज अन्तर्गत पहिलो खेलमा भारतलाई २ सय २७ रनले पराजित गरेको इंग्ल्यान्डले त्यसपछिका दुई खेलमा लगातार हार ब्यहोरेको छ । इंग्ल्यान्ड दोस्रो खेलमा भारतसँग ३ सय १७ रनले र तेस्रो खेलमा १० विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्