onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दुई दिनमै सकिएको टेष्टमा अफगानिस्तानको लज्जास्पद हार

एजेन्सी । अफगानिस्तान र जिम्बाबेबीचको दुई खेलको टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा अफगानिस्तानले लज्जास्पद हार ब्यहोरेको छ ।

सिरिजमा लज्जास्पद हार ब्यहोर्ने क्रममा बुधबार अफगानिस्तान जिम्बाबेसँग १० विकेटले पराजित हुन् पुग्यो । दुई दिनमा सकिएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको मात्र १७ रनको लक्ष्यलाई जिम्बाबेले ३.२ ओभरमा विना विकेटले गुमाएर पूरा गर्यो । उसका लागि केविन कासुजाले ११ तथा प्रिन्स मसवारेले ५ रन बनाए ।

त्यसअघि मंगलबार पहिलो दिन युएईस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले आफ्नो पहिलो इनिङमा ४७ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाएको थियो ।

निकै खराब ब्याटिङ गर्ने क्रममा अफगानिस्तानका लागि विकेट किपर ब्याट्सम्यान अफसर जजाईले सर्वाधिक ३७ तथा ओपनर ब्याट्सम्यान ईब्राईम जार्दानले ३१ रन र अविजित रहेका अमिर हम्जाले १६ रन बनाएका थिए ।

बलिङमा जिम्बाबेका लागि मुजाराबानीले ४ तथा विक्टर न्याउचीले ३ र कप्तान सीन विलियम्स,डोनाल्ड तिरिपानो र सिकंदर रजाले१-१ विकेट लिएका थिए ।

त्यसपछि पहिलो इनिङ सुरु गरेको जिम्बाबेले ७२ ओभरमा अलआउट हुँदै २ सय ५० रन बनायो । उसका लागि कप्तान सीन विलियम्सले शतकीय पारी खेले ।१ सय ७४ बलको सामना गरेका उनले १० चौकाको सहयोगमा १ सय ५ रन बनाए ।यस्तै सिकंदर राजाले ४३ तथा रेगिस चकबराले ४४ रन बनाए ।

बलिङमा अफगानिस्तानका अमिर हम्जाले एक्लैले ६ विकेट हात पार्दा जाहिर खानले २ तथा इव्राईम जार्दान र यामीन अहमदजाईले १-१ विकेट लिए ।

पहिलो इनिङबाट १ सय १९ ले पछि परेको अफगानिस्तान दोस्रो इनिङमा १ सय ३५ रनमै सिमित हुन् पुग्दा जिम्बाबेले मात्र १७ रनको लक्ष्य प्राप्त गरेको हो । दोस्रो इनिङमा अफगानिस्तानका ओपनर ब्याट्सम्यान इब्राईम जार्दानले सर्वाधिक ७६ रन बनाए । भने अविजित रहेका अमिर हम्जाले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।

बलिङमा जिम्बाबेका डोनाल्ड तिरिपानो र विक्टर न्याउचीले ३-३ विकेट हात पार्दा मुजाराबानीले २ तथा कप्तान सीन विलियम्स र रायन बुरलले १-१ विकेट लिएका थिए ।

अब यी दुईबीचको दोस्रो तथा अन्तिम टेष्ट मार्च १० तारिखबाट सुरु हुनेछ । टेष्टपछि यी दुईबीच ३ खेलको टि – ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्