onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियामा बस चलाउँदै विश्वकप खेलेका श्रीलंकन खेलाडी

एजेन्सी । सन् १९९६ मा एकदिवसीय विश्वकप जितेसँगै एसियामा बलियो शक्तिको रुपमा अगाडि आएको श्रीलंका एक दशक भन्दा बढि निकै राम्रो लयमा रहेको थियो । त्यसबीचमा श्रीलंकाले टि-ट्वान्टी र एकदिवसीय ढाँचामा राम्रो गर्दै पनि गयो । त्यसको फलस्वरुप श्रीलंका सन् २००७ र २०११ को एकदिवसीय विश्वकपमा लगातार उप – विजेता समेत बन्यो ।

यसका साथै सन् २००२ मा भएको आईसिसी च्याम्पियन्स ट्रफीमा श्रीलंका भारतसँगै च्याम्पियन बन्दा टि-ट्वान्टी विश्वकपमा दुई पटक उप-विजेता र सन् २०१४ मा च्याम्पियन समेत बन्यो । तर एसियाको चम्किलो ताराको रुपमा विकसित हुँदै गरेको श्रीलंकाको क्रिकेट पछिल्लो समय खस्किदो क्रममा रहेको छ ।

श्रीलंकाको क्रिकेट खस्किनुमा क्रिकेट भित्रको खराब राजनितिनै मुख्य कारण रहेको बताईन्छ । यस्तोमा श्रीलंकाको क्रिकेट प्रगतिपथतर्फ अग्रसर नहुँदा क्रिकेटसँग प्रत्यक्ष जोडिने धेरैलाई कठिनाई हुँदै आएको छ ।

स्वयम् खेलाडीलाई गाह्रो पर्ने अवस्थामा रहेको छ । केही सिमित खेलाडीहरुलाई विदेशी फेन्चाइजले राहत दिनु बाहेक समग्रमा अवस्था संतोषजनक रहेको छैन । खेलाडीहरुलाई वैकल्पिक कमाईको स्रोत खोज्नु पर्ने अवस्था रहेको छ ।

सोही क्रममा अहिले श्रीलंकाबाट विश्वकप खेलिसकेका पूर्व क्रिकेटर सुरज रणदीव र चिन्तका जयसिंघेले अष्ट्रेलियाको मेलबर्नमा सार्वजनिक बस चलाउँदै आएका छन् । यसका साथै जिम्बावेका पूर्व क्रिकेटर वाडिंगटन वायेंगाले पनि उनिहरुसँगै बस चलाउँदै आएका छन् ।

स्मरण रहोस् सुरज रणदीवले सन् २०११ मा भारतमा भएको एकदिवसीय विश्वकपमा टिममा महत्त्वपूर्ण सदस्य रहेका थिए । त्यस बेला श्रीलंकाले फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा श्रीलंका घरेलु टोली भारतसँग पराजित हुन् पुगेको थियो ।

योसँगै चेन्नई सुपर किंग्सले सन् २०११ आईपीएलको उपाधि उचाल्दा सुरज टिमका महत्त्वपूर्ण सदस्य रहेका थिए । उनलाई चेन्नईले अक्सनमार्फत दुई वर्षको लागि टिममा अनुबन्ध गरेको थियो ।

३६ वर्षिय स्पिनर सुरजले श्रीलंकाबाट तिनै ढाँचाका क्रिकेट खेले । सन् २००९ मा भारतविरुद्ध एकदिवसीय खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेका उनले यसबीचमा १२ टेष्ट ,३१ एकदिवसीय र ७ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्