onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेयर कपको खेल तालिका सार्वजनिक

काठमाडौं(अनलाइन खेल खबर)। काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक काठमाडौंमा हुन् लागेको मेयर कपको खेल तालिका सार्वजनिक भएको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुगेका टोलीहरु आर्मी,एपीएफ, पुलिस र बागमती प्रदेशसँगै काठमाडौं महानगरको टोली काठमाडौं मेयर -एघारको सहभागी रहने प्रतियोगिताको पहिलो दिन फागुन २२ गते कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिभुवन आर्मीले एपीएफको सामना गर्दा सोही दिन मुलपानी क्रिकेट मैदानमा पुलिसले बागमती प्रदेशको सामना गर्नेछ ।

सहभागी कुल पाँच टिमले लिग चरणमा ४ खेल खेल्ने छन् । सिंगल राउन्ड रोबिन पछि अंकतालिकामा शीर्ष दुई टिमले उपाधिका लागि २९ गते प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल टियु मैदानमा हुनेछ । समग्रमा प्रतियोगितामा ११ खेल हुनेछ । फाइनल अघि २८ गते आराम दिइएको छ ।

प्रतियोगिताको लागि काठमाडौं महानगरपालिकाले ५० लाख नगद प्रदान गर्ने उल्लेख गरेको छ । यता पुरुष मेयर कप लगत्तै काठमाडौंंमा महिलाको पनि मेयर कप हुनेछ । चैत्रको पहिलो साताबाट सुरु हुने सम्भावना रहेको उक्त प्रतियोगितालाई ललितपुर महानगरपालिकाले सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्