onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेक्ससमाथि एपीएफको क्लिन स्विप

काठमाडौं (अनलाइन खेल खबर) । नेक्सस क्रिकेट एकेडेमीविरुद्धको तीन खेलको एकदिवसीय मैत्रीपूर्ण सिरिजमा विभागीय टोली एपीएफले क्लिन स्विप गरेको छ ।

शुक्रबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेक्ससलाई ९१ रनले पराजित गरेसँगै एपीएफले सिरिजमाथि क्लिन स्विप गरेको हो ।

खेलमा एपीएफले प्रस्तुत गरेको २ सय १६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेक्सस ३३.१ ओभरमा अलआउट हुँदै १ सय २४ रनमा सिमित हुन् पुग्दा एपीएफलाई सिरिजमा तेस्रो जित हासिल गर्न प्रयाप्त बन्यो ।

नेक्ससका लागि विवेक न्यौपाने र उत्तम थापाले ३१-३१ रन बनाउँदा सुबोधले १८ रन जोडे ।

बलिङमा एपीएफका सुवाश खत्रीले ३ तथा सुमित महर्जन,सुर्य तामाङ र योगेन्द्र कुमालले २-३ विकेट लिए । भने ईसार्द अहमदले पनि १ विकेट हात पारे ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ४० ओभर पूरै ब्याटिङ गर्दै ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।

टिमले उक्त स्कोर खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान रिजन थापाले अर्धशतकीय पारी खेले । ७३ बलको सामना गरेका उनले ७ चौका र १ छ्क्काको सहयोगमा ६४ रन बनाए ।

यस्तै अर्का ओपनर रित गौतमले ३५ रन जोड्दा प्रदीप एरीले १९ रन र सुमित महर्जनले २४ रन बनाएका थिए ।

बलिङतर्फ नेक्ससका लागि स्वरुप श्रेष्ठले ३ तथा विशाल विक्रम केसीले २ लिए । यस्तै सुमित बुढाथोकी , विजय बुढामगर र सुवोध दुग्लेपनि १-१ विकेट लिए ।

यसअघि सिरिजमा एपीएफले नेक्ससलाई पहिलो खेलमा २५ रन र दोस्रो खेलमा ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्