onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफको लगातार दोस्रो जित

काठमाडौं (अनलाइन खेल खबर )।विभागीय टोली एपीएफले नेक्सस क्रिकेट एकेडेमीविरुद्धको तीन खेलको एकदिवसीय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित हासिल गरेको छ ।

सिरिजमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा एपीएफले बिहिबार नेक्ससलाई ६ विकेटले पराजित गर्यो । खेलमा नेक्ससले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्यलाई एपीएफले ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई सहज जित दिलाउने क्रममा उसका लागि अमर सिंह रौटेलाले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ३६ रनको योगदान गरे । अविजित रहेका उनले ४६ बलमा ५ चौकासहित उक्त रन बनाए । यस्तै सुमित महर्जनले ३४ रन , रिजन थापाले ३२ रन ,प्रदीप एरीले २७ तथा अविजित रहेका इर्शाद अहमदले २२ रन बनाए ।

बलिङतर्फ नेक्ससका लागि बिया बुढा मगरले २ तथा सुमित बुढाथोकी र राज बमले १-१ विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले ३९.५ ओभरमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो ।

उसका लागि कप्तान विपिन शाहीले ३७ तथा सुमित बुढाथोकीले २२ रन र आयुश भट्टराईले १७ रन बनाए ।

बलिङतर्फ एपीएफका लागि सुमित महर्जनले ४ तथा इर्शाद अहमदले ३ र यक्षमान कुमाल , सुर्य तामाङ र पुरन बिकेले १-१ विकेट लिए ।

यसअघि पहिलो खेलमा एपीएफले नेक्ससलाई २५ रनले पराजित गरेको थियो । अब सिरिजको अन्तिम खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्