onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान पृथ्वी शाको कीर्तिमानी दोहोरो शतक

एजेन्सी । भारतीय युवा ओपनर ब्याट्सम्यान पृथ्वी शाले भारतको प्रतिष्ठित एकदिवसीय क्रिकेट प्रतियोगिता विजय हजारे ट्रफीमा दोहोरो शतक प्रहार गरेका छन् ।

जसपुरस्थित सवाई मानसिंह रंगशालामा जारी खेलमा मुम्बईका कप्तान पृथ्वी शाले पुडुचेरीविरुद्ध दोहोरो शतकीय पारी खेलेका हुन् ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ५७ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा कप्तान तथा ओपनर ब्याट्सम्यान पृथ्वी शा एक्लैले २ सय २७ रनको योगदान गरे । अविजित रहेका उनले १ सय ५२ बलको सामना गर्दै ३१ चौका र ५ छ्क्कासहित उक्त रन बनाए । जो विजय हजारे ट्रफीको हालसम्मकै सर्वाधिक उच्च व्यक्तिगत स्कोर हो । यसअघि प्रतियोगितामा उच्च स्कोर सन् २०१९ मा सन्जु स्यामसनले बनाएका थिए । केरलाबाट खेल्ने क्रममा उनले गोवाविरुद्ध अविजित रहदै २ सय १२ रन बनाएका थिए।

शाले सानदार ब्याटिङ गर्दा सुर्य कुमार यादवले पनि शतक पूरा गरे । ५८ बलको सामना गरेका उनले २२ चौका र ४ छ्क्कासहित १ सय ३३ रन बनाए । यी बाहेक विकेटकिपर ब्याट्सम्यान आदित्य तारेले ५६ रन बनाए ।

बलिङतर्फ पुडुचेरीका पंकज सिंहले २ तथा सागर त्रिवेदी र एसएस कुमारले १-१ विकेट लिएका थिए ।

विशाल चुनौतीलाई पछ्याउँदै अहिले पुडुचेरीले जवाफी ब्याटिङ गरिरहेको छ र फराकिलो हार नजिक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्