onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अक्षर पटेल चम्किँदा इंग्ल्यान्ड सस्तैमा समिटियो

एजेन्सी । भारतीय स्पिनर अक्षर पटेल चम्किँदा तेस्रो टेष्ट खेलमा पाहुना टोली इंग्ल्यान्ड पहिलो इनिङ्समा सस्तैमा समिटिएको छ ।

अहमदाबादस्थित विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालामा सरदार पटेल रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निकै खराब ब्याटिङ गर्ने क्रममा ४८.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र १ सय १२ रनमा सिमित हुन् पुग्यो ।

उसका लागि ओपनर ब्याट्सम्यान जाक क्रॉलीले सर्वाधिक ठूलो पारी खेले । अक्षर पटेलको बलमा एलबिडब्लुको सिकार हुनुअघि उनले ८४ बलमा १० चौकासहित ५३ रन बनाए । यस्तै कप्तान जो रुटले १७ रन , जोफ्रा आर्चरले ११ रन र बेन फोक्सले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न नसक्दा टिम सस्तैमा रोकिन बाध्य भयो ।

इंग्ल्यान्डको ब्याटिङ ध्वस्त पार्ने क्रममा अक्षर पटेल एक्लैले ६ विकेट लिए । २१.४ ओभर बलिङ गरेका उनले ६ ओभर मेडन राख्दै मात्र ३८ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै आश्विनले ३ विकेट लिदा सय टेष्ट पूरा गरेका ईशान्त शर्माले १ विकेट लिए ।

चार खेलको टेष्ट सिरिज अन्तर्गत यसअघि भएको पहिलो खेलमा इंग्ल्यान्ड विजयी भएको थियो भने दोस्रो खेलमा भारतले जित आत्मसाथ गरेको थियो । यस्तोमा सिरिज अहिले १-१ को बराबरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्