onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफको विजयी सुरुवात

काठमाडौं (अनलाइन खेल खबर ) । विभागीय टोली एपीएफ र नेक्सस क्रिकेट एकेडेमीबीच तीन खेलको एकदिवसीय मैत्रीपूर्ण सिरिजको पहिलो खेलमा एपीएफ विजयी भएको छ ।

एपीएफले सिरिजमा विजयी सुरुवात गर्ने क्रममा बुधबार नेक्सस क्रिकेट एकेडेमीलाई २५ रनले पराजित गर्यो ।

खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ११ रनको चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेक्ससले ३८.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

बलियो एपीएफविरुद्ध निकै राम्रो ब्याटिङ गर्ने क्रममा नेक्ससका लागि ओपनर ब्याट्सम्यान उत्तम थापाले सर्वाधिक ठूलो पारी खेले । अर्धशतक बनाउनमा मात्र १ रनले चुकेका उनले ४९ रन बनाउने क्रममा ६४ बलमा ८ चौका प्रहार गरेका थिए ।

यस्तै टोलीलाई लक्ष्य नजिक पुर्याउने क्रममा सुमित बुढाथोकीले २७ रन , रुपेश बस्यालले २६ रन र कप्तान विपिन शाहीले १६ रनको योगदान गरे ।

बलिङतर्फ एपीएफका सुवाश खत्रीले ३ तथा राजेश श्रेष्ठले २ र अमर सिंह रौटेला र पुरन विकेले १-१ विकेट लिएका थिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा प्राबिधिक कारणले ४० ओभरमा छोटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ४० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर २ सय १० रन बनाएको थियो ।

उसका लागि अमर सिंह रौटेलाले अविजित रहदै ६८ रन बनाए । ७३ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ७ चौका समेत प्रहार गरे । यी बाहेक टिमका लागि सुमित महर्जनले पनि अविजित रहदै ४७ रन थपे ।

यस्तै रिजन थापाले १७ रन बनाउदा कप्तान प्रदीप एरीले २३ रन बनाएका थिए ।

बलिङतर्फ नेक्ससका लागि सुमित बुढाथोकीले २ तथा स्वरुप श्रेष्ठ र दीपेन्द्र यादवले १-१ विकेट लिएका थिए ।

अब यी दुईबीचको दोस्रो खेल बिहिबार हुनेछ । एपीएफसँग खेल्नु अघि नेक्ससले नेपाल पुलिससँग तीन खेलको एकदिवसीय मैत्रीपूर्ण सिरिज खेलेको थियो । जहाँ पुलिसले सिरिजमाथि क्लिन स्विप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्