अल्लमल्ल अवस्थामा टेष्ट क्रिकेटको सपना

अल्लमल्ल अवस्थामा टेष्ट क्रिकेटको सपना

सलमान शाह (अनलाइन खेल खबर) । नेपाली खेलकुद इतिहासमा हालसम्म अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलताका हिसावले सर्वाधिक सफल टिम खेल कुन हो ? भन्ने प्रश्न कसैले सोधि हाल्यो भने अधिकाम्सको उत्तर क्रिकेटनै हो भन्ने आउँछ ।

फाइल फोटो – नेपाली प्रथम श्रेणी टोली ।

यसरी सबैको मन जित्दै यो छाप कायम गर्नका लागि अर्थात् यो स्तरसम्म पुग्न भने नेपाली क्रिकेटलाई लामो समयनै लाग्यो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेको नेपालले २२ वर्षको अन्तरालपछि बल्ल अहिले एकदिवसीय मान्यता प्राप्त देश बनेको छ । सन् २०१८ मा जिम्वावेमा एकदिवसीय विश्वकपको छ्नोट प्रतियोगितामा प्ले अफको बाटो हुँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद( आईसीसी ) ले नेपाललाई अस्थायी रुपमा एकदिवसीय राष्ट्रको मान्यता दिएको थियो ।

जसको अवधि पनि अब केहि वर्ष मात्र रहनेछ । यसपछि के नेपालले एकदिवसीय मान्यतालाई निरन्तरता दिन सक्ला त ? भन्ने विषयले महत्वपूर्ण स्थान राख्दै गर्दा यसबीचमा क्रिकेटसँग नजिक रहेका चाहे त्यो पदाधिकारी हुन् या स्वयम् खेलाडीहरु बाट पनि टेष्ट क्रिकेटको बारेमा बेला बखत चर्चा सुनिरहेका हामीले पाईरहेका हुन्छौं ।

लिमिटेड ओभरको क्रिकेट पछि क्रिकेटको अन्तिम विन्दुनै टेष्ट हो । तसर्थ चर्चा परिचर्चा हुनु स्वाभाविक पनि छ । टेष्टले आईसीसीको पूर्ण सदस्यतालाई जनाउँछ । तसर्थ क्रिकेटको उच्चतम आकर्षणको विन्दुनै टेष्ट क्रिकेट हो ।

हालसम्म आईसीसीबाट टेष्ट मान्यता प्राप्त गर्ने देशहरु १२ रहेका छन् । जस अन्तर्गत हालसम्मको कान्छो सदस्य आयरल्यान्ड हो । भने अफगानिस्तान ११ औं सदस्य राष्ट्र हो । दुबैले टेष्ट क्रिकेटमा सन् २०१८ मै डेब्यु गरेका थिए ।

यसरी केही वर्षअघि सम्म अफगानिस्तानलाई कडा टक्कर दिने हाम्रो टिम अहिले कहाँ छ ? अफगानिस्तान कहाँ पुग्यो । यसमा कुनै विचार विमर्श गर्नुभन्दा पनि हामी भित्र-भित्रै रोम्लिएका छौं ।

टेष्ट क्रिकेटको सपना देख्दै गर्दै अफगानिस्तान रआयरल्यान्डको बारेमा एकपटक बुझ्न जरुरी छ । आन्तरिक द्वन्दबाट ग्रसित देश अफगानिस्तानले बुझ्यो देशको मुहारमा खुशी अब क्रिकेटले दिन सक्छ । त्यसको परिणामस्वरुप त्यहाँको सरकारले क्रिकेटप्रति ब्यापक लगानी गर्यो ।

खेल संरचनाको विकासमा जोड दियो । खेलाडी उत्पादनका लागि ग्रासरुट क्रिकेट हुँदै विशेष वैदेशिक प्रशिक्षणसम्मको ब्यवस्था मिलायो र आज अफगानिस्तान विश्व क्रिकेटमा यो स्थानमा रहेको छ । यस्तै कथा आयरल्यान्डको पनि रहेको छ ।

भौगोलिक हिसाबले नेपाल भन्दा पनि सानो मुलुक आयरल्यान्डको क्रिकेट विकासको ग्राफलाई नियाल्दा निकै लोभलाग्दो रहेको छ । टेष्ट पाउंँनका लागि प्रदर्शन त हुनुनै पर्छ । तर त्यसका साथै अन्य धेरै कुराहरुले महत्व राख्छ । जुन हो घरेलु क्रिकेटको संरचना,कसरी घरेलु क्रिकेटमार्फत नयाँ खेलाडी उत्पादनमा काम भईरहेको छ । नयाँ खेलाडी उत्पादनमा कस्तो प्रयासहरु भएका छन् । कस्ता -कस्ता खेलहरु हुँदै आएको छ । र त्यसले पारेको प्रभावलाई ध्यान दिईएको हुन्छ साथै टेष्ट क्रिकेटका लागि आवस्यक भौतिक संरचना मैदान तथा रंगशाला पनि प्रयाप्त हुनु जरुरी हुने गर्छ ।

बाहिरको हेरेर नेपालमा पनि क्रिकेटसँग नजिक रहेकाले बेला -बखत नेपालको टेष्ट सपना अबको १०-१२ वर्षमा पूरा हुनेछ भन्दै भाषणबाजि गर्न थाकेका छैनन् । करिब ४ वर्ष आईसीसीको निलम्बनबाट फर्किएको नेपाल क्रिकेट संघ ( क्यान ) का अध्यक्ष चतुरबहादुर चन्दले निर्वाचन बेलादेखि नेपालको अबको लक्ष्य टेष्ट क्रिकेटसम्म पुग्ने रहेको बताउँदै आएका छन् । त्यसका लागि समय लाग्ने तर त्यसका लागि क्यान अग्रसर हुने र करिब एक दशकमा नेपालले टेष्ट मान्यता पाउने कुरा अहिलेपनि उनि बारम्बार सामाजिक सामारोह तथा अन्तर्वार्ताका क्रममा दोराउँदै आउने गर्छन् ।

तर यी यस्ता क्षणिक समयमा टेष्ट क्रिकेटको बारेमा कुरा चलेपनि त्यसको बाटोमा नेपालले सुरुवात कहिलेबाट गर्ने त्यो भने अत्तोपत्तोनै छैन । अल्लमल्ल अवस्थामा न हामीसँग प्रयाप्त योजनानै छन् र हुने तयारी गरिदै छन् । तितो सत्य वर्तमान अवस्थामा एउटा राम्रो स्तरको प्रतियोगिता गर्न हामीलाई हम्मेहम्मे परिरहेको छ । राष्ट्रिय प्रतियोगिता -राष्ट्रियस्तरका छैनन् । बीचमा क्यानको निलम्बनले गर्दा घरेलु क्रिकेटमा ठूलो धक्का पुग्यो । अहिले क्यान त फर्किएको छ । तर फर्किएको अनुभुति वर्तमान अवस्था सम्म पनि त्यो किसिमको हुन् सकेको छैन । कार्यसमिति आएको एक वर्ष भन्दा पनि बढी भईसकेछ क्या रे ! भित्र भित्रै अल्मलिएको जस्तो देखिने क्यान सामान्य कुरा भन्दा माथि उठनै सकेको छैन । टेष्ट क्रिकेटको कुरा त धेरै टाढा भयो र जुन सोच्ने फुर्सद जुरेको जस्तो अहिलेसम्म महसुस गर्न पाईएको छैन ।

के नेपालले टेष्ट क्रिकेटको सपना बुने हुन्छ त ,के सम्भव छ त ? खेलमा असभ्वत भन्ने त हुँदै हुदैन । त्यहीँ हो ढिलो – चाडोको कुरा हुन् सक्छ । वर्तमान परिपेक्षमा नेपालले आफ्नो सम्भावनालाई स्वभनिय पनि बनाएको छ । पछिल्लो समयलाई हेर्दा सम्भावनालाई उत्तिकै प्रबल पनि देखाएको छ ।

क्रिकेटले एक पछि अर्को सम्भावनाको ढोका खोल्दै गर्दा खेलको माध्यमबाट नेपाललाई विश्वमा चिनाउँदै गर्दा कहिँ कतै राज्यले त्यति ध्यान नदिएको पो हो कि भन्ने पनि धेरैलाई लाग्ने गर्छ ।

खेलप्रति राज्यको उदासिन्ता र राज्यले पनि कस्को ? कति सम्भावनालाई नबुझिँदा धेरै समस्याहरु उब्जेका पनि छन् । एक त देशको अवस्था पनि त्यति सन्तोषजनक नभईरहेको अवस्था छ । भने अर्को तिर खेलकुदमा कम लगानी र प्रतिफलको आशा धेरै छ ।

यस्तो अवस्थामा चल्दै गर्दा राज्यले पनि असली कुरालाई चिन्न सकेको जस्तो लाग्दैन । खेलकुदको हकमा विश्वमा यस्ता उदाहरण पनि प्रशस्तै छन् । जहाँ जस्को सम्भावना धेरै छ त्यसलाई प्राथमिकतामा राख्ने गरिन्छ । र त्यहीँ अनुसार विकासका योजना तर्जुमा गरिन्छ ।

विडम्बना त्यो हाम्रोमा अहिलेसम्म देखिन पाईएको छैन । जुन देशमा जस्को सम्भावना निकै कम छ र सम्भावना धेरै छ । त्यसको योजना समान्तरण बनाईन्छ र त्यसरीनै हेरिन्छ । अब राज्य पनि स्पष्ट हुनु जरुरी छ ।जसले व्यापक सम्भावना देखाएका छन् त्यसलाई उच्च प्राथमिकता दिनुपर्छ । लगानि पनि त्यहीँ अनुसार गर्नु जरुरी देखिन्छ ।

राज्यको बजेटको खाका पनि त्यस्तै हुनुपर्छ । बालुवामा पानि खनाएर ब्यर्थ फाल्नु भन्दा अन्यलाई पनि समेट्दै प्रबल सम्भावना देखाएको क्रिकेटप्रति राज्य पनि उदार बन्नैपर्छ जसले गर्दा टेष्ट क्रिकेटको सपनालाई साकार पार्न त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

टेष्ट राष्ट्रको सपना पूरा गर्नका लागि क्यानले मात्र योजना बनाएर पुग्ने वाला पनि देखिदैन । त्यसका लागि राष्ट्रको साथले ठूलो अर्थ र भूमिका राख्छ । भौतिक संरचना देखि क्रिकेट विकासका लागि क्यानले मात्र गरेर सम्भव पनि छैन । तसर्थ राज्यले क्रिकेटमा प्रयाप्त लगानि गर्नु जरुरी छ । त्यसका लागि क्यानले आफ्नो योजना अन्तर्गत राज्यसँग तालमेल मिलाउन सक्ने क्षमता भने पक्कै वृद्धि गर्नु पर्ने तत्कालै आवस्यक रहेको छ ।

टेष्ट राष्ट्र प्राप्त गर्न के गर्ने ?

स्पष्ट छ,नेपालले आईसीसीले कस्तो अवस्था भयो भने मात्र टेष्ट मान्यता दिन्छ । त्यसलाई मध्यनजर गर्दै भावि योजना बनाउनु पर्छ । त्यसका लागि मुख्यतया:नेपालको प्रदर्शन,नयाँ खेलाडी उत्पादनको संरचनासँगै भौतिक पुर्वाधारको अवस्थासँगै संघको सक्रियतालाई केन्द्रित रहेर काम गर्नुपर्ने हुन्छ ।

त्यसमा जिल्लाहुँदै प्रदेश स्तरमा क्रिकेट मैदानसँगै केहि अन्तर्राष्ट्रिय स्तरको रंगशाला हुनु जरुरी छ ।यसका साथै अहिलेको हाम्रो घरेलु क्रिकेट संरचनाले पुग्ने वाला छैन त्यसका लागि आमूल परिवर्तन गर्नुपर्छ । विद्यालय क्रिकेटसँगै क्रिकेटलाई गाउँ-गाउँ पुराउनु जरुरी छ । र मुख्य कुरा लामो ढाँचाको क्रिकेट प्रयाप्त खेल्ने बाताबरण सिर्जित गर्नु पर्ने उत्तिकै आवस्यक रहेको छ । ढिला पक्कै भएको हो । अगाडि बढ्नु छ भने हामी पनि लामो ढाँचाको क्रिकेटमा ढल्किनै पर्छ । उमेर समूहलाई अझ प्राथमिकता दिदै प्रशस्तै क्रिकेट प्रशिक्षण केन्द्रको ब्यवस्थालाई जोड दिन जरुरी छ ।

अर्को कुरा यो समयमा यो गर्ने त्यसपछि त्यो गर्ने भन्ने स्पष्ट खाका नेपालले तयार गर्नुपर्ने हुन्छ । यहाँ योजना यस्तो होस् कि क्यानको नेतृत्वको छाँया नपरोस् । नेपालमा यस्तो देखिदै आएको छ । जहाँ एउटाले योजना बनायो उसको कार्यकाल सकिएपछि योजना कार्यकालसँगै सकिने र अर्को नेतृत्वले निरंतरता नदिने चलन व्यापक पाईन्छ । हो त्यसो हुनु भएन । लक्ष्यमा पुग्न चतुरबहादुर चन्दको नेतृत्वले बनाएको योजनालाई भावि नेतृत्वले पनि निरन्तरता दिनु पर्ने हुन्छ । केही तलमाथि योजनामा परिमार्जन गर्न सकिएला तर बोकि हिडेको लक्ष्यमा भने परिमार्जित गर्नु भएन । यसो भए मात्र हामी क्रमश: टेष्ट क्रिकेटको नजिक – नजिक पुग्नेछौं ।

नेपालको बलियो पक्ष : टेष्ट मान्यता प्राप्त गर्न आईसीसीका सर्तहरुलाई त पूरा गर्नैपर्छ । र यसरी पूरा गरि टेष्ट राष्ट्र बनेको खण्डमा के नेपालले टेष्ट हैसियतमा खरो उत्रिन सफल होला त ? प्रश्न सामान्य देखिएपनि निकै महत्त्वपूर्ण छ । विश्वास यो छ कि नेपाल त्यो अवस्थासम्म टेष्ट मान्यतालाई न्याय गरिरहेको हुनेछ । त्यसको मुख्यतः एउटै गतिलो आधार हाम्रोमा हाम्रा अर्गानिक खेलाडी छन् ।

हाल एसोसिएटसँगै केही अन्य देशमा पनि बाहिरबाट खेलाडी ल्याएर क्रिकेट खेलिरहेको पाईन्छ । घरबाट उत्पादन नभएपछि उनिहरुको नतिजा कहिले ह्वात्तै माथि र कहिले तल हुने देखिदैं आएको छ । यस्तोमा नेपालको प्राकृतिक क्रिकेट देखि आईसीसी पनि प्रभावित हुँदै आएको छ । अन्य उदायमान क्रिकेटको तुलनामा नेपाल क्रिकेटप्रति आईसीसीको नजर फरक र फराकिलो छ । यस्तोमा आईसीसी पनि यस कुरामा केहि उदार पक्कै हुनेमा दुईमत छैन ।

यस्तै अर्को नेपाली क्रिकेटको लोभलाग्दो पक्ष भनेको क्रिकेट प्रतिको साथनै हो । नेपालमा क्रिकेटका समर्थक देखेर आईसीसी पनि दंग छ । क्रिकेटको उर्वर भूमिको रुपमा रहेको दक्षिण एशियाली क्षेत्रको सानो देश नेपालमा क्रिकेटको लोकप्रियतालाई देखेर आईसीसीले नेपालप्रति सकारात्मक सोच बनाउँदै आएको पनि सङ्केत प्रशस्तै छन् । यसरी सम्भावनाको प्रबल ढोका खोलेको नेपालले चुनौतीलाई पन्छाउँदै आफ्नो उदेश्य प्राप्तिका लागि ढिला नगरी अब लाग्नै पर्छ । त्यसका लागि यो उपयुक्त कालखण्ड पनि हो ।