onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एभरेष्ट प्रिमियर लिगमा अनुबन्ध श्रीलंकन भेट्रान खेलाडी उपुल थरंगाबाट सन्यासको घोषणा

एजेन्सी । श्रीलंकाका भेट्रान खेलाडी उपुल थरंगाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षिय बायाँ हाते ब्याट्सम्यान थरंगाले मंगलबार आफ्नो सामाजिक संजालमार्फत आफुले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

उमेर समूह हुँदै राष्ट्रिय टोलीको कप्तानी समेतको जिम्मेवारी पूरा गरिसकेका थरंगाले श्रीलंकन क्रिकेटको उचाई बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

सन् २००५ मा भारतविरुद्धको टेष्ट खेलबाट आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेका उनले यसबीचमा श्रीलंकाबाट ३१ टेष्ट , २ सय ३५ एकदिवसीय र २६ टि – ट्वान्टी अन्तर्राष्ट्रिय खेले । जस अन्तर्गत उनले टेष्टतर्फ १७ सय ५४ रन , एकदिवसीयमा ६ हजार ९ सय ५१ र टि – ट्वान्टी अन्तर्राष्ट्रियमा ४ सय ७ रन बनाए ।

विशेष गरि एकदिवसीय क्रिकेटमा माहिर मानिने थरंगाको सन् २०१९ को मार्चमा दक्षिण अफ्रिकाविरुद्ध भएको एकदिवसीय खेलनै उनको अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट हुन् पुग्यो । उक्त खेलमा उनले ओपनिङ गर्दै २ रन बनाएका थिए ।

यता श्रीलंकन भेट्रान थरंगा नेपालको चर्चित फेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पनि अघिल्लो वर्ष अनुबन्ध भएका थिए ।

उनलाई साविकको विजेता ललितपुर प्याट्रियट्सले भित्राएको थियो । अघिल्लो वर्षको चैत १ देखि १५ देखि सुरु हुने तयारीमा रहेको ईपीएल कोभिड -१९ का कारण प्रतियोगिताको मुखमै आएर स्थगित हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्