onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालामा पहिलो पटक खेल हुँदै : रंगशाला देखेर खेलाडी दंग

एजेन्सी । घरेलु टोली भारत र इंग्ल्यान्डबीच अहिले टेष्ट सिरिज जारी रहेको छ । चार खेलको टेष्ट सिरिज अन्तर्गत दुई खेल चेन्नईमा भएको थियो । जहाँ पहिलो खेल पाहुना टोलीले जित्दा दोस्रो खेल भारतले जितेको थियो ।

यस्तोमा अहिले चार खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । अब यी दुईबीचको तेस्रो टेष्ट बुधबार देखि सुरु हुन् गईरहेको छ । जुन खेल गुजराजको अहमदाबादस्थित सरदार
पटेल रंगशाला अर्थात मोटेरा रंगशालामा हुनेछ । स्मरण रहोस् सरदार पटेल रंगशाला विश्वको सर्वाधिक ठूलो क्रिकेट रंगशाला हो ।

अघिल्लो वर्ष मात्रै निर्णाण सकिएको यस रंगशालामा पहिलो आधिकारिक खेलनै यहि नै हुनेछ । १ लाख १० हजार दर्शक क्षमताको रंगशाला जति ठूलो छ त्यसमाथि उत्तिकै आकर्षक पनि । पहिलो पटक खेल हुन् गईरहेको अवस्थामा अहिले भारत र इंग्ल्यान्ड दुबै देशका खेलाडीहरु रंगशालालाई देखेर दंग पर्दै तारिफ गरेर थाकेका छैनन् ।

चेन्नईमा दुई टेष्ट खेली अहमदाबाद पुगेको टोलीले यहि मैदानमा पुगेर आफ्नो अभ्यास पनि गरिरहेका छन् । हालै भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई ) ले जारी गरेको भिडियो सामाग्रीमा खेलाडीहरु यस रंगशालामा पहिलो पटक खेल्न लाग्दा आफूहरु निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

यो रंगशाला आगामी विश्वकपलाई मध्यनजर गर्दै निर्माण गरिएको हो । जुन निर्माण गर्न करिब १ सय १० मिलियन डलर लागत लागेको छ । रंगशालालाई पुरानो ढाँचालाई हटाएर नयाँ स्वरुपमा पुन: बनाईएको हो । भारतीय राजनेता सरदार वल्लभ भाइ पटेलको सम्मानार्थ तयार भएको यस रंगशालालाई सन् २०१५ देखि नयाँ ढाचामा तयार गर्न थालिएको थियो । र रंगशालाको उद्घाटन अघिल्लो वर्ष फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त रुपमा गरेका थिए ।

यता यहीँ मैदानमा टेष्ट सिरिजपछि पाँच खेलको टि – ट्वान्टी सिरिज पनि हुनेछ ।जसको सुरुवात भने मार्च १२ तारिखबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्