कतारी नागरिकबाट गौतम बुद्ध रंगशालालाई आर्थिक सहयोग
काठमाडौं (अनलाइन खेलखबर) ।धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि कतारी नागरिक मन्सुर अमन अल अलिले आर्थिक सहयोग गरेका छन् ।
धुर्मुस सुन्तली फाउन्डेसनका अनुसार उनले रंगशाला निर्माणका लागि नेपाली १५ हजार सहयोग गरेका छन् । कतारमा रहेका दामोदर पराजुलीले रंगशालाको बारेमा मन्सुरलाई जानकारी गराएपछि उनले स्वतस्फूर्त उक्त सहयोग गरेका हुन् ।
यसरी सहयोग गर्ने क्रम पछिल्लो समय अहिले क्रमशः बढ्दो क्रममा रहेको छ । बीचमा रंगशाला निर्माण गर्दै जाने क्रममा आर्थिक अभाव देखिएको थियो । जुन अहिले पनि पूर्ण रुपमा हटिसकेको भने छैन । तर पनि यी यस्ता सहयोगि मनहरु जोडिदै जादा माहोल पुन: फर्किने अवस्थामा देखिन्छ ।
यता रंगशाला निर्माणको काम पनि निरन्तर तीब्र गतिमा चलिरहेको छ । निर्धारित मितिमै रंगशाला बनाउने अठोट बोकेको धुर्मुस सुन्तली फाउन्डेसन निर्माण कार्यमा अहोरात्र खट्दै आएको पाईन्छ ।
त्यसका लागि आर्थिक संकलन तथा प्रचारप्रसारका लागि बेला -बखत विभिन्न रचनात्मक कार्य पनि फाउन्डेसनले गर्दै आएको छ । चाहे त्यो स्टार क्रिकेट या गौतम बुद्ध कप किन नहोस् । यी यस्ता प्रतियोगिता आयोजनामार्फत फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोगको अपिलसँगै माहोल बनाउँदै आएको छ ।
जनस्तरबाट बन्न लागेको नेपालको पहिलो रंगशालाले अहिले आकार पनि क्रमशः लिदैछ । क्रिकेटसँगै अन्य केही खेललाई समेटदै देशका ७७ जिल्लाको अपनत्व हुने गरी रंगशाला बन्दै छ।