onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेक्ससमाथि पुलिसको क्लिन स्विप

काठमाडौं (अनलाइन खेल खबर ) । विभागीय टोली नेपाल पुलिस क्लब र नेक्सस क्रिकेट एकेडेमीबीचको तीन खेलको मैत्रीपूर्ण एकदिवसीय सिरिजमा पुलिसले क्लिन स्विप गरेको छ ।

शुक्रबार सिरिजको अन्तिम खेलमा पुलिसले नेक्ससलाई १ सय ८० रनले पराजित गरेसँगै पुलिसले सिरिज क्लिन स्विप गरेको हो । यसअघि सिरिज अन्तर्गत पहिलो खेलमा पुलिस ८२ रनले विजयी हुँदा दोस्रो खेलमा पुलिसले नेक्ससलाई २ विकेटले पराजित गरेको थियो ।

यता अन्तिम खेलमा पुलिसले प्रस्तुत गरेको २ सय ७६ रनको विशाल लक्ष्यलाई पछ्याएको नेक्सस ३४.२ ओभरमा अलआउट हुँदै ९५ रनमा सिमित हुन् पुगेपछि पुलिसलाई फराकिलो जित हासिल गर्न प्रयाप्त बन्यो ।

नेक्ससका लागि कप्तान विपिन शाहीले सर्वाधिक १८ रन तथा ओपनर ब्याट्सम्यान विशाल विक्रम केसीले १४ रन र आशिष सुनुवारले १५ रन बनाए ।

बलिङतर्फ पुलिसका लागि विजय धितालले सर्वाधिक ४ विकेट हात पारे ।९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै मात्र १८ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै नविनले २ तथा योगेन्द्र कार्की ,राहुल झा,अमित श्रेष्ठ र प्रेम तामाङले पनि १-१ विकेट लिएका थिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ४५ ओभर पूरै खेल्दै ६ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि अनिल कुमार शाहले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ८९ रनको योगदान गरे । ७२ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ९ चौका र ४ छ्क्का समेत प्रहार गरे । यस्तै टिमका लागि पुर्सोतम झाले ५० तथा प्रेम तामाङले ४३ रन बनाए । यस्तै अविजित रहेका योगेन्द्र कार्कीले ५४ रन थप्दा टिमले विशाल योगफल बनाउन सफल भयो ।

बलिङतर्फ नेक्ससका दिपेन्द्र यादवले ४ तथा विपिन शाही र सुमित महर्जनले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्