onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पुलिसको लगातार दोस्रो जित

काठमाडौं (अनलाइन खेल खबर) । विभागीय टोली नेपाल पुलिस क्लब र नेक्सस क्रिकेट एकेडेमीबीचको तीन खेलको मैत्रीपूर्ण एकदिवसीय सिरिजको दोस्रो खेलमा पनि पुलिस विजयी भएको छ ।

सिरिजमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा पुलिसले बुधबार नेक्ससलाई २ विकेटले पराजित गरेको थियो । यसअघि पहिलो खेलमा पुलिसले ८२ रनले जित आत्मसाथ गरेको थियो ।

यता खेलमा नेक्ससले प्रस्तुत गरेको ८८ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको पुलिसले उक्त चुनौतीलाई २७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।

पुलिसका लागि अमित श्रेष्ठले अर्धशतकीय पारी खेले । ८६ बलको सामना गरेका उनले ६ चौका र १ छ्क्काको सहयोगमा ५३ रन बनाए ।अघिल्लो खेलमा पनि उनले ६८ रन बनाएका थिए । यस्तै अनिल शाहले १९ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । जसमा सुनिल धमलाले २ रन , प्रेम तामाङ १ रन र योगेन्द्र कार्की ४ रनमा आउट हुन् पुगेका थिए ।

झिनो लक्ष्यलाई पछ्याएको भएपनि पुलिसलाई दबाबमा ल्याउन नेक्ससका बलरहरुले उत्कृष्ट बलिङ प्रस्तुत गरे । त्यसको फलस्वरुप पुलिसलाई लक्ष्य पूरा गर्न ८ विकेट गुमाउनु पर्यो । बलिङतर्फ नेक्ससका सुमित महर्जनले ३ तथा विपिन शाही र राज बमले २-२ विकेट हात पार्दा सुमित बुढाथोकीले १ विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले ३२.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर ८७ रन बनाएको थियो ।

उसका लागि सुमित बुढाथोकीले सर्वाधिक २४ रन र सुमित महर्जनले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बलिङतर्फ पुलिसका लागि योगेन्द्र सिंह कार्की ,सुनिल धमला ,विजय धिताल र प्रेम तामाङले २-२ विकेट लिदा विनोदले १ विकेट हात पारेका थिए ।

अब यी दुई बीचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्