onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेक्ससमाथि पुलिसको सहज जित

काठमाडौं (अनलाइन खेल खबर) । विभागीय टोली नेपाल पुलिस क्लब र नेक्सस क्रिकेट एकेडेमीबीचको तीन खेलको मैत्रीपूर्ण एकदिवसिय सिरिजको पहिलो खेलमा पुलिस विजयी भएको छ ।

मंगलबार भएको पहिलो खेलमा पुलिसले नेक्ससलाई ८२ रनले पराजित गरेको छ । खेलमा पुलिसले प्रस्तुत गरेको २ सय २९ रनको विजयी लक्ष्यलाई पछ्याएको नेक्सस ३५.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ४६ रनमा सिमित हुन् पुगेपछि खेल पुलिसले आफ्नो पक्षमा पार्न सफल भयो ।

नेक्ससका लागि ब्याटिङमा ओपनर ब्याट्सम्यान उत्तम थापाले सर्वाधिक २८ रन बनाउँदा अर्का ओपनर तथा टिम कप्तान विपिन शाहीले २७ रनको योगदान गरे ।

यस्तै विशाल विक्रम केसीले २४ रन बनाउँदा स्वरुप श्रेष्ठले १६ रन थपे ।

बलिङतर्फ पुलिसका लागि विजय धितालले सर्वाधिक ४ विकेट हात पारे । भने अमित श्रेष्ठले २ तथा प्रेम तामाङ र विनोद खत्रीले १-१ विकेट लिएका थिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा पिच भिजेको कारण ४० ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ४० ओभर पूरै ब्याटिङ गर्दै ६ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो ।

उसका लागि अमित श्रेष्ठले सर्वाधिक ठूलो पारी खेले । ९७ बलको सामना गरेका उनले ७ चौकाको मद्धतमा ६८ रन बनाए । यस्तै टिमका लागि अनिल शाहले ३२ , योगेन्द्र सिंह कार्कीले ३४ रन र मन्जित श्रेष्ठले १८ रन जोडे ।

बलिङतर्फ नेक्ससका दीपेन्द्र यादवले २ तथा विपिन शाही र सुमित बुढाथोकीले १-१ विकेट लिएका थिए ।

अब यी दुईबीचको मैत्रीपूर्ण सिरिजको दोस्रो खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्