onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतको सानदार जित

एजेन्सी । घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेष्टमा सानदार जित हासिल गरेको छ । ४ खेलको टेष्ट सिरिजको दोस्रो खेलमा सानदार जित हासिल गर्ने क्रममा भारतले पाहुना टोली इंग्ल्यान्डलाई ३ सय १७ रनले पराजित गर्यो ।

खेलमा ४ सय ८२ रनको विशाल लक्ष्यलाई पछ्याएको इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा ५४.२ ओभरमा अलआउट हुँदै मात्र १ सय ६४ रनमा सिमित भएपछि भारतले फराकिलो जित आत्मसाथ गरेको हो ।

निकै खराब ब्याटिङ गरेको इंग्ल्यान्डका लागि बलर मोईन अलिले सर्वाधिक ४३ रन बनाउँदा कप्तान जो रुट ३३ र ओपनर ब्याट्सम्यान रोरी बर्न्सले २५ तथा डेनियल लरेन्सले २६ रनको योगदान गरे ।

इंग्ल्यान्डको इनिङ्स ध्वस्त पार्ने क्रममा भारतका अक्षर पटेल एक्लैले ५ विकेट हात पारे । २१ ओभर बलिङ गरेका उनले ५ मेडन सहित ६० रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै रविचन्द्रन आश्विनले ३ तथा कुलदिप यादवले २ विकेट लिएका थिए ।

चेन्नईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले आफ्नो पहिलो इनिङ्समा ३ सय २९ रन बनाएको थियो । जसमा ओपनर ब्याट्सम्यान रोहित शर्माले १ सय ६१ रनको योगदान गरेका थिए भने अजिक्य राहानेले ६७ तथा अविजित रहेका विकेट किपर ब्याट्सम्यान रिषभ पन्तले ५८ रन बनाएका थिए ।

त्यसपछि इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा १ सय ३४ रन बनाउँदा भारतले दोस्रो इनिङ्सबाट २ सय ८६ रन थप्दा इंग्ल्यान्डले विशाल लक्ष्य प्राप्त गरेको थियो । जसमा पहिलो इनिङ्सको झै ब्याटिङ फ्लप हुन् पुग्दा खेलनै इंग्ल्यान्डले गुमाएको छ ।

यो सँगै चार खेलको टेष्ट सिरिज १-१ को बराबरी भएको छ । यसअघि पहिलो टेष्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले पराजित गरेको थियो । अब यी दुईबीच तेस्रो टेष्ट बुधबार देखि अहमदाबादमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्