मुनस्टोनले उचाल्यो चितवन च्याम्पियनसिप ट्रफीको उपाधि
काठमाडौं (अनलाइन खेल खबर) । चितवनमा भएको १७ औं संस्करणको चितवन च्याम्पियनसिप ट्रफीको उपाधि
मुनस्टोन क्रिकेट क्लबले उचालेको छ ।
सोमबार भएको प्रतियोगिताको फाइनल खेलमा ग्लोबल इन्टरफेस इस्टर्न क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्दै मुनस्टोन च्याम्पियन बनेको हो ।
खेलमा इस्टर्न क्रिकेट एकेडेमीले प्रस्तुत गरेको २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको मुनस्टोनले उक्त चुनौतीलाई ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
मुनस्टोनका लागि अलराउन्डर योगेन्द्र सिंह कार्कीले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ५२ रनको योगदान गरे । यस्तै भिम सार्कीले ४६ रन बनाउँदा लोकेश बमले ३९ रन जोडेका थिए ।
बलिङतर्फ इस्टर्नका सुमित महर्जनले ३ विकेट लिए ।
त्यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इस्टर्नले निर्धारित ४५ ओभर पूरै खेल्दै ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो ।
उसका लागि तीव्र गतिका बलर नन्दन यादवले अविजित रहदै ८३ रनको योगदान गरेका थिए । भने सुमित महर्जनले ५१ तथा कप्तान आकाश थापाले ३६ रन बनाएका थिए ।
बलिङतर्फ मुनस्टोनका भीम सार्की र हरिबहादुर चौहानले २-२ विकेट लिए । भने खेलका प्लेयर अफ द म्याच समेत घोषित भएका योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।
उपाधिसँगै मुनस्टोनले २० हजार र उपविजेता इस्टर्नले १० हजार रुपैयाँ प्राप्त गर्यो । यस्तै प्रतियोगितामा योगेन्द्र सिंह कार्की सर्वोउत्कृष्ट खेलाडी घोषित भए । भने विपिन खत्री उत्कृष्ट बलर र सुमित महर्जन उत्कृष्ट व्याट्सम्यान चुनिए ।
चितवन क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिता माघ २७ गतेदेखि सुरु भएको थियो ।