onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अनुजलाई दक्षिण कोरियाबाट ठूलो आर्थिक सहयोग प्राप्त

काठमाडौं (अनलाइन खेल खबर) । दक्षिण कोरियामा रहेका नेपाली युवाहरुको समूहले युवा तीव्र गतिका बलर अनुज चनारालाई खेलकुद सामाग्री किन्नका लागि ठूलो आर्थिक सहयोग गरेका छन् ।

जुन उनलाई प्राप्त हालसम्मकै ठूलो सहयोग राशी समेत हो । केही हप्ता अघि काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशबाट खेलेका उनले राम्रो प्रदर्शन गर्दै पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेत सामेल भएका थिए ।

बन्द प्रशिक्षणमा रहेकै बेला हाम्रो खेलकुद डट कमले उनको क्रिकेटिङ यात्रालाई समेट्दै कभर स्टोरी प्रकाशित गरेको थियो । जहाँ उनका संघर्षका दिनहरुमा राष्ट्रिय प्रतियोगिता खेल्न आईपुग्दासम्म साथिको जुत्ता मागेर खेल्न आएको उल्लेख थियो ।

सोही कभर स्टोरी पढिसकेपछि अहिले उनलाई सहयोगी हातहरु क्रमशः जुट्ने क्रममा रहेका छन् । यसबीचमा दक्षिण कोरियाबाट पनि उक्त सहयोग प्राप्त भएको हो ।

सुदीप रावतको विशेष पहलमा दक्षिण कोरियामा संकलन भएको रकमलाई अनलाइनमार्फत एक कार्यक्रमकाबीच सोमबार ८ लाख २७ हजार वन अर्थात करिब ८६ हजार ७ सय नेपाली रुपैयाँं अनुजलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण गरेपछि सुदिपले भने जाजरकोट सामान्य झाडापखलाको उपचार नपाएर ज्यान गुमाउने ठाउँ हो । त्यो ठाउँबाट आएर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सम्म आउनु ठूलो गर्वको कूरा हो । अनुजलाई खेलकुद सामाग्री सहयोगको लागि आर्थिक सहयोग गर्न पाउँदा धेरै खुसी छौं । आगामी दिनमा पनि आवश्यक परे सहयोग गर्न तयार रहने छौं’ ।

उनले अनुजलाई निरन्तर खेलमा केन्द्रित हुँदै कर्णाली र नेपालको नाम चिनाउन मेहनत गरि रहन समेत आग्रह गरे ।

यसअघि बागमती प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीले नगद १५ हजार तथा नेपाली क्रिकेटका सक्रिय समर्थक तारा पाठक, विनोद जिसी, गोविन्द भुषाल, प्रतीक उपाध्याय, जय लामिछाने र कृष्ण खनाल मिलेर १८ हजार नेपाली रुपैयाँ बराबरको जुत्ता हस्तान्तरण गरेका थिए ।

यस्तै उनलाई बागलुङ नगरपालिका वडा नम्बर ८ का वासिन्दा तथा अधिबक्ता रमेश बहादुर खड्काले ७ हजार र कमल सुनचाँदी पसल पोखरा, बेनी र म्याग्दीका प्रमुख कमल विश्वकर्माले पनि ५ हजार सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्