onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतको राम्रो पुनरागमन

एजेन्सी । घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेष्टमा २ सय ४९ रनको अग्रता कायम गरेको छ । दोस्रो दिनको समाप्तिसम्ममा दोस्रो इनिङ्समा भारत १८ ओभरमा मात्र १ ओभर गुमाएर ५४ रन बनाएको छ । क्रिजमा ओपनर ब्याट्सम्यान रोहित शर्मा २५ रनमा र चेतेश्वर पुजारा ७ रनमा छन् ।

शनिबार देखि चेन्नईमा सुरु भएको खेलमा त्यसअघि भारतले पहिलो इनिङ्समा ९५.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ३ सय २९ रन बनाएको थियो ।

उसका लागि रोहित शर्माले सानदार ब्याटिङ गरे । २ सय ३१ रनको बल गरेका उनले १८ चौका र २ छ्क्कासहित १ सय ६१ रनको योगदान गरे ।

यस्तै अजिंक्य रहाणेले ६७ रन तथा अविजित रहेका रिषभ पन्तले ५८ रन बनाए ।

बलिङतर्फ इंग्ल्यान्डका लागि मोईन अलिले ४ तथा ओली स्टोनले ३ विकेट हात पारे । भने ज्याक लिचले २ र जो रुटले १ विकेट लिएका थिए ।

त्यसपछि पहिलो इनिङ्स सुरु गरेको इंग्ल्यान्डले खराब ब्याटिङ गर्ने क्रममा ५९.५ ओभरमा आफ्नो विकेट गुमाएर १ सय ३४ रनमा सिमित हुन् पुग्यो ।

उसका लागि विकेटकिपर बेन फोक्सले ४२ रन बनाए । भने ओली पोप २२ रन र बेन स्टोक्सले १८ रन बनाए ।

इंग्ल्यान्डको ब्याटिङ ध्वस्त पार्ने क्रममा भारतका रविचंद्रन आश्विन एक्लैले ५ विकेट हात पारे । भने अक्षर पटेल र इशान्त शर्माले २-२ विकेट लिदा मोहम्मद सिराजले १ विकेट लिएका थिए ।

चार टेष्ट सिरिजको पहिलो खेल गुमाएको घरेलु टोली भारतले दोस्रो टेष्टमा भने राम्रो पुनरागमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्