नर्दन वारियर्सलाई दोस्रो पटक टि-१० लिगको उपाधि
एजेन्सी । नर्दन वारियर्सले युएईमा भएको टि-१० लिगको उपाधि उचालेको छ । गएराति भएको फाइनल खेलमा दिल्ली बुल्सलाई ८ विकेटले पराजित गरेपछि वारियर्स च्याम्पियन बनेको हो ।
सन् २०१७ देखि सुरु भएको टि-१० लिग चौथों संस्करणसम्म आईपुग्दा वारियर्स दोस्रो पटक च्याम्पियन बनेको छ । यसअघि सन् २०१८ मा भएको दोस्रो संस्करण पनि वारियर्सले जितेको थियो ।
यता खेलमा दिल्लीले दिएको ८२ रनको लक्ष्यलाई वारियर्सले ४ बल बाँकी रह्दै २ विकेट गुमाएर पूरा गर्यो ।
टिमलाई च्याम्पियन बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान वसीम मुहम्मदले २७ तथा कप्तान निकोलस पूरनले १२ रनको योगदान गर्दा अविजित रहेका लेन्डल सिमन्स र रोभ्मन पावेलले क्रमशः १४ र १६ रन बनाएका थिए ।
बलिङमा दिल्लीका लागि सिराज अहमद र फिडेल एडवर्ड्सले १-१ विकेट लिएका थिए ।
त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित १० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर ८१ रन बनाएको थियो ।
उसका लागि मोहम्मद नाबीले सर्वाधिक २१ रन बनाए भने ओपनर ब्याट्सम्यानद्वय रहमानुल्लाह गुर्बाज र इविन लुईसले क्रमशः १३ र १० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिम मध्यम योगफलमा रोकिएको थियो ।
बलिङतर्फ वारियर्सका लागि महेश थेक्ष्णाले ३ तथा जुनेद सिद्दकी र धनंजया लक्ष्सनले २-२ विकेट हात पार्दा रायद इमृत र फ्याबियन एलेनले पनि १-१ विकेट लिन सफल भएका थिए ।