भारतविरुद्ध इंग्ल्यान्डको विशाल योगफलमा कप्तान रुटको कीर्तिमानी दोहोरो शतक
एजेन्सी । भारत र इंग्ल्यान्डबीचको पहिलो टेष्ट खेलमा पाहुना टोली इंग्ल्यान्डले विशाल योगफल बनाईसकेको छ । चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले खेलको दोस्रो दिनसम्म इंग्ल्यान्ड १८० ओभरमा ८ विकेट गुमाएर ५ सय ५५ रन बनाएको छ र डोमिनिक बेस २८ र ज्याक लेच ६ रनमा क्रिजमा छन् । पहिलो दिन इंग्ल्यान्डले मात्र ३ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो ।
टिमले विशाल योगफल बनाउने क्रममा उसका लागि कप्तान जो रुटले कप्तानी पारी खेले । कीर्तिमानी ब्याटिङ गर्ने क्रममा उनले ३ सय ७७ बलमा १९ चौका र २ छ्क्कासहित २ सय १८ रनको योगदान गरे ।
पहिलो दिनमै टिमलाई ठोस सुरुवात दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले दोस्रो दिन पनि उत्तिकै समझदारीपूर्ण ब्याटिङ गरे । त्यसैको फलस्वरुप उनले उक्त रन बनाउन सफल भए । उनि १५३.६ ओभरमा टिमको स्कोर ४ सय ७७ रन हुँदा शाहवाज नदिमको बलमा छ्ठौं विकेटका रुपमा आउट हुन् पुगेका थिए । यो सँगै रुट १०० औं टेष्टमा दोहोरो शतक प्रहार गर्ने विश्वको पहिलो खेलाडी समेत बनेका छन् ।
यस्तै टोलीका लागि पहिलो दिन ओपनर ब्याट्सम्यान रोरी बर्न्सले ३३ रन तथा डोमिनिक सिब्लेले ८७ रनको योगदान गर्दा डेनियल लरेन्स सुन्य रनमा आउट भएका थिए ।
त्यसपछि दोस्रो दिन बेन स्टोक्सले ८२ रन बनाउदा ओली पोपले ३४ रन र जस बटलरले ३० रन बनाए ।
बलिङतर्फ भारतका लागि हालसम्म ईशान्त सर्मा , जसप्रित बुमराह , आश्विन र शाहवाज नदिमले २-२ विकेट लिएका छन् ।