onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सुरुमा विश्वासनै गरेनन्

सलमान शाह(अनलाइन खेल खबर)।बिहिबार राति ८ बजेर ५ मिनेट हुँदा नेपाल क्रिकेट संघ ( क्यान ) बाट आसन्न ओमान भ्रमणको लागि प्रारम्भिक टोलीको नावावलीसहितको प्रेस विज्ञप्ति प्राप्त भयो ।

क्यानले यी यस्ता सामाग्रीहरु सुरुमा मिडियासामू नै पठाउने गर्छ । जुन आफैमा परम्परागत राम्रो पक्ष पनि हो । त्यसपछि मात्र केही समयपछि अन्य आफ्नो सामाजिक संजाल र वेबसाईटमा राख्ने गर्छ ।

बिहीबार पनि प्रक्रिया अनुरुपकै निरन्तरता थियो । क्यानले यसपटक महत्वाकांक्षी रुपमा ३२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको रहेछ ।

ईमेल प्राप्त गर्न साथ मेरो ध्यान सुरुमा अर्जुन कुमालप्रति नै गयो । अर्जुनसँग नजिक र बेला बखत कुरा भईरहने हुँदा हतार – हतार खुशीको खबर उनलाई सुनाई हाले । उनि भारतको दिल्लीमा बस्ने हुँदा सामाजिक संजालनै माध्यम बन्दै आएको हुथ्यो ।

संम्योग सामाजिक संजालमा त्यति सक्रिय नहुने अर्जुन त्यस बेला ठ्याक्कै अनलाइननै रहेछन् । मैले म्यासेजरमार्फत उनलाई बन्द प्रशिक्षणमा परेको भन्दै जानकारी र बधाई एकै पटक दिए । त्यसबेलासम्म उनलाई विश्वास लागिरहेको थिएन् ।

उनले फेरी भने कस्ले पठाएको छ क्यानले हो ? मैलें भने हो । त्यसपछि बल्ल उनले विश्वास माने । मलाई अहिले लाग्छ उनले यस किसिमको आश गरेका थिएनन् क्यारे । त्यस कारण उनले सुन्ने बित्तिकै विश्वास गरेनन् ।

त्यसपछि उनले बन्द प्रशिक्षण लगायतका सामान्य जानकारी म सँग लिए । मैले बुझे अनुरुप उनलाई जानकारी दिए । त्यसपछि यता अर्जुनलाई प्राथमिकतामा राख्दै नेपाली सञ्चारमाध्यमले बन्द प्रशिक्षणको समाचार बाहिर ल्याए । म भने त्यो दिन प्राबिधिक कारणले अलिकती ढिलो हुन् पुगे ।

समाचार बाहिर आएपछि विशेष चर्चा अर्जुनकै थियो । उनलाई सामाजिक संजालमा बधाई दिनेको ओईरोनै लाग्दै थियो । जुन अहिले पनि जारी रहेको छ ।

यु -१९ खेल्ने सोच बनाईरहेका अर्जुनका लागि त्यो अविस्मरणीय दिन थियो । क्यानले दिएको उक्त सरप्राईज उनको लागि कल्पना बाहिरको थियो । यस्तोमा दिल्लीमा रहेका अर्जुन शुक्रबार आमाको साथ नेपाल फर्किएका छन् ।

बन्द प्रशिक्षणमा परेको खबरले उनिसँगै परिवारमा खुशी प्रदान गरेको छ । बुबा , आमा तथा सबै सुभचिन्तकहरु खुशी छन् । स्वयम् अर्जुन पनि ।

बन्द प्रशिक्षणमा बोलाईएका हालसम्मका कान्छा खेलाडी अर्जुन यसलाई भरपुर सदुपयोग गर्ने सोचमा रहेका छन् । क्लोज क्यापमा थप मेहनत गर्ने अठोट लिएका छन् ।

केहि दिनअघि मात्र काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेर उनि दिल्ली फर्किसकेका थिए । प्रतियोगितामा खेल्न मात्र नेपाल आउँने अर्जुन यता प्रतियोगिता सकिए लगत्तै दिल्लीनै फर्किने गर्छन् । हप्ता दिनअधि मात्र उनि दिल्ली फर्किएका थिए ।

दिल्ली फर्किनु अघि जसरी उनले प्रधानमन्त्री कपमा प्रदर्शन गरे । त्यो तारिफयोग्यनै रहेको थियो । गण्डकी प्रदेशबाट खेलेका १५ वर्षे कलिलो खेलाडीले जसरी प्रतियोगितामा आफुलाई प्रस्तुत गरे । त्यो आफैमा अदभुतनै रहेको थियो ।

यी यस्ता प्रतिभा विरल्लै देख्न पाईन्छ । उनले प्रतियोगितामा राम्रो प्रदर्शन मात्र गरेनन् । ठूलो ढाँचाको क्रिकेट कसरी खेल्नु पर्छ भनेर सिकाए पनि । नेपालमा ठूलो ढाँचामा हाम्रा खेलाडीहरुलाई खेल्न हम्मे हम्मे परि रहेको देखि रहँदा उनले जसरी आफुलाई प्रस्तुत गरे ।

भन्न मन लाग्छ । उमेर सानो होला, प्रतिभामा कमि छैन । अनुभवको कमि होला परिपक्वतामा कमि छैन । मैदान भित्र प्रवेश गरेसँगै उनलाई कुनै हतार हुँदैन । उनि आफ्नो प्राकृतिक शैलीमा मज्जैले खेल्न सक्छन् । बललाई पढ्न सक्ने र कमजोर बलमाथि सट प्रहार गर्ने उनको विषेशता हो ।

यिनै क्रिकेट खेलकै लागि जन्मिएका अर्जुनका लागि अहिले सम्भावनाका बाटो खुला भएको छ । जसरी अर्जुन अहिले अगाडि बढ्दै छन् । त्यसले समग्र नेपाली क्रिकेटको भविष्य अझ उज्ज्वल देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्