onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मराठामाथि ग्याडियटर्सको सहज जित : सोमपालको उत्कृष्ट प्रदर्शन

एजेन्सी । युएईमा जारी टि -१० लिगमा नेपालका अलराउन्डर सोमपाल कामीआवद्ध मराठा अरेवियन्स फेरी पराजित हुन् पुगेको छ । बिहिबार भएको खेलमा मराठा अरेवियन्स डेकन ग्याडियटर्ससँग २९ रनले पराजित हुन् पुग्यो ।

खेलमा डेकन ग्याडियटर्सले प्रस्तुत गरेको १ सय २१ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको मराठाले निर्धारित १० ओभर पूरै खेलेपनि ३ विकेट गुमाएर ९१ रनमा सिमित हुन् पुगेपछि नतिजा ग्याडियटर्सले आफ्नो पक्षमा पार्यो ।

मराठाका लागि कप्तान मोसाददेक हुसेनले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले २१ बलको सामना गर्दै ३ चौका र ३ छ्क्कासहित ४४ रनको योगदान गरे । यस्तै ओपनर ब्याट्सम्यान इशान मल्होत्राले पनि २२ रन बनाए ।

बलिङतर्फ ग्याडियटर्सका कप्तान इमरान ताहिर,जिसान जम्सेर र आरोनले १-१ विकेट लिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको ग्याडियटर्सले निर्धारित १० ओभर पूरै सामना गर्दै मात्र ४ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

उसका लागि अनवर अलिले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ३९ रन जोडे । अविजित समेत रहेका उनले १२ बलमा ६ चौका र २ छ्क्का प्रहार गरे ।

यस्तै ओपनर ब्याट्सम्यान प्रशान्त गुप्ताले ३५ तथा विकेट किपर ब्याट्सम्यान यासिर कलिमले २८ रनको योगदान गरेका थिए ।

बलिङमा मराठाका लागि नेपालका सोमपालले २ विकेट हात पार्दा प्रविण ताम्बे र गाजीले १-१ विकेट लिएका थिए । सोमपालले आफ्नो स्पेलको २ ओभर पूरै बलिङ गर्दै मात्र १२ रन खर्चिएर उक्त विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्