onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानको सुखद अत्य

एजेन्सी । दक्षिण अफ्रिका र पाकिस्तानबीच भएको तीन खेलको टि -ट्वान्टी सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली पाकिस्तानले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

भ्रमणमा सान्त्वना जित हासिल गर्ने क्रममा पाकिस्तानले बुधबार राति दक्षिण अफ्रिकालाई डिएल मेथड अनुरुप ८ रनले पराजित गरेको छ ।

खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाको १२.३ ओभरमा ४ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा मैदानमा भारी वर्षा हुन् पुग्दा खेल अन्ततः अगाडि बढेन र नतिजा डिएल मेथडमार्फत पाकिस्तानको पक्षमा गयो ।

त्यस बेलासम्म दक्षिण अफ्रिकाका लागि मिन्यॉन दु प्रीझले अविजित रहदै २४ रन र ओपनर ब्याटर ऐनी बॉशले १३ रन बनाएकी थिइन् ।

बलिङमा पाकिस्तानका लागि अनम अमिनले २ तथा निदा दरले १ विकेट लिएकी थिइन् ।

त्यसअघि डर्वानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर पूरै ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

उसका लागि ओपनर ब्याटर तथा टिमकी कप्तान जावरिया खानले अर्धशतकीय पारी खेलिन। ५० बलको सामना गरेकी उनले ५ चौकासहित ५६ रनको योगदान गरिन् । यस्तै कैनाज इम्तियाझले २९ रन, आयशा जफरले १९ रन र निदा दरले १८ रन बनाएकी थिइन् ।

बलिङतर्फ दक्षिण अफ्रिकाकी नोंदुमिसो शंगसेले ३ तथा तुमी सेखुखुनेले २ र मसबत क्लासले १ विकेट लिएकी थिइन् ।

यो सँगै पाकिस्तानले दक्षिण अफ्रिका भ्रमणमा सुखद अत्य गरेको छ । यसअघि टि – ट्वान्टी सिरिज अन्तर्गत अगाडिका दुई खेलमा पाकिस्तान पराजित हुन् पुगेको थियो । त्यस्तै टि – ट्वान्टी सिरिज अघि भएको एकदिवसीय सिरिज पनि पाकिस्तानले ३-० ले गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्